मृत अवस्थामा छ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । चितवन, माडी नगरपालिका-७ गोपालनगरस्थित नेपाल मत्स्यपालन तथा कृषि फर्मको माछा पोखरीमा भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने ६७ वर्षीय तारा बहादुर बस्नेत मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सर्लाही, ईश्वरपुर नगरपालिका-१२ घारीबथानस्थित खेतमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६२ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै कैलाली, जानकी गाउँपालिका-९ अमरावती बस्ने ८० वर्षीया माता देवी शाही आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता गोरखा, आरूघाट गाउँपालिका-४ धारश्वारा बस्ने ७१ वर्षीय क्षेत्र बहादुर थापा सोही ठाउँस्थित गुइखोला ( खहरे ) दोभानमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता कास्की, पोखरा महानगरपालिका-२५ याम्दीस्थित सेती नदीको ढुङ्गाको खोचमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ५५ वर्षीय महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी रौतहट, इशनाथ नगरपालिका-४ सहिदगेट नजिकै खेतमा भारत मोतिहारी बस्ने ४५ वर्षीय महेन्द्र साह सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार