आफ्नै माटोमा पसिनाको समर्पण !

‘विदेशिनु धेरैको लागि रहर होइन, बाध्यताको विषय हो’ भन्ने कुरा अब कसैबाट लुकेको छैन । रोजगारीको अभाव, पारिवारिक जिम्मेवारी र आर्थिक असुरक्षाका कारण लाखौं नेपाली युवाहरू खाडी मुलुक, कोरिया, जापान, युरोप र अमेरिका लगायतका देशहरूमा पुगिरहेका छन् । कोही पसिना बगाएर पैसा कमाउँछन् र सन्तानको भविष्य बनाउन खर्चिन्छन्, कोहीे सीप बेचेर आफ्नो भविष्य सुरक्षित गर्नमा खर्चिन्छन् । उनीहरू आफ्नो कमाइले घर बनाउँछन्, छोराछोरी पढाउँछन् र आफ्ना अभिभावकहरूको बुढेसकाललाई सहज बनाउँन खर्चिन्छन् ।

तर अझ प्रेरणादायी कथा तब सुरू हुन्छ, जब यी विदेशिएका युवाहरू बर्खा लागेपछि नेपाल फर्कन्छन्, तर विश्राम गर्न, रमाइलो गर्न होइन, खेतबारी जोत्न र धान रोप्न !



माटोको मायाँले बोलाउँछ
झापा जिल्लाको जलथल चौकीबिरन गाउँका युवा गोकुल उप्रेती त्यस्तै एउटा उदाहरण हुन्, एउटा प्रतिनिधि पात्र हुन् । गोकुल केही वर्षदेखि न्युजिल्याण्डको एउटा कृषि फर्ममा कार्यरत छन् । नेपालमा कृषि र पशु प्राविधिक भएर लामो समय कृषि सम्बन्धी व्यवसाय गरे पनि अपेक्षित सफलता नपाएपछि उनी बाध्यताले विदेशिएका थिए । तर पनि माटोसँगको उनको सम्बन्ध कहिल्यै टुटेन, कमजोर भएन ।

गोकुल हरेक वर्ष असार महिना लाग्नासाथ एक महिनाको बिदा लिएर नेपाल फर्किन्छन् । गाउँमा आएपछि बा–आमा, परिवार र साथीसङ्गीसँग भेटघाट गर्नु त स्वाभाविक हुने नै भयो, तर उनले बिदा लिएर गाउँ फर्कनुको असली अर्थ चाहिँ आफ्नै खेतमा पसिना बगाएर देखाउँनु हो । कृषि कर्म गर्दै खेतबारीमा रमाउनु हो । उनी रोपाइँमा खटिन्छन्, ट्याक्टर चलाउँछन्, हलो जोत्छन्, बिउ काड्छन्, हिलोमा खुट्टा चोब्छन् र फेरि प्राण भरिएको आफ्नै माटोको मायॉ र सुवास बोकेर कर्मभूमि फर्किन्छन् ।

श्रमको सम्मान र माटोप्रतिको प्रेम
अरूको लागि बिदा भनेको रमाइलो, घुमघाम र विश्राम हो तर गोकुलजस्ता युवाहरूका लागि बिदा भनेको आफ्नो खेतमा काम गरेर माटोलाई नमन गर्नु हो । हिलो र पसिनाले भिजेको खेत उनीहरू जस्ताको लागि पूजास्थल जस्तै हो, मन्दिर हो । विदेशमा कम्प्युटर चलाउने, औजार समाउने हातहरूले आफ्नो देशको माटो स्पर्श गर्न हतारिन्छ । त्यो पल र त्यो दृश्य केवल कृषि–कर्म मात्र बन्दैन, माटोप्रतिको प्रेम र सॉचो अर्थमा देशप्रतिको प्रेममा रुपान्तरण हुनपुग्छ । राष्ट्र प्रेम वा राष्ट्रियता भन्ने कुरा केवल शब्द मात्र होइन, मर्मसहितको पवित्र कर्म हो ।

धेरैले प्रश्न गर्छन् रे– ‘विदेशमा राम्रो कमाइ हुने मान्छेले किन खेतमा पसिना बगाउने ?’ भनेर । तर गोकुलजस्ता युवाहरूले समाजलाई कर्मले उत्तर दिएका छन् । श्रम सानो–ठूलो हुँदैन र माटोसँगको सम्बन्ध कहिल्यै कमजोर हुँदैन भनेर प्रमाणित गरिदिएका छन् । खेतमा काम गर्नु कुनै लाजको विषय होइन, बरु त्यो त गर्वको विषय हो । आत्मसम्मान र आत्मनिर्भरताको विषय पनि हो ।

सामाजिक र पारिवारिक एकता
रोपाइँको बेला जब परिवारका सबै सदस्य, छरछिमेकी, साथीभाइ खेतमा जुट्छन्, त्यो केवल खेती होइन; प्रेम हो, सद्भाव हो, एकता हो, आपसी सम्बन्ध र सुसंस्कार अभिवृद्धिको माध्यम पनि हो । सामूहिक श्रमले सामाजिक एकता बलियो हुन्छ, माटोसँगको सम्बन्ध अझ प्रगाढ बन्छ । यस्ता आदर्श कर्मले कृषि र किसानको गरिमा मात्र बढ्दैन, नयाँ पुस्तालाई कृषिकर्मप्रति लगनशील हुन प्रेरित पनि गर्दछ ।

विदेशमा सीप, स्वदेशमा प्रयोग
गोकुलजस्ता युवाहरू विदेशमा आधुनिक कृषि प्रणालीको नजिकबाट अवलोकन गर्छन्, नयाँ नयाँ सीप र प्रविधि सिक्छन् र प्राप्त ज्ञान र सीपलाई नेपाली माटोमा प्रयोग गर्ने चाहना राख्दछन् । कति विदेशबाट फर्किएका युवाहरूले नेपालमा आएर कृषि क्षेत्रमा उदाहरणीय काम गरेर धेरैका लागि प्रेरणा बनेका समाचारहरू पनि सुन्नमा आएका छन् । यस्तो सकारात्मक समाचार सुन्दा पनि खुसी लाग्छ । यो राम्रो दृष्टान्त पनि हो ।

दुई–चार वर्ष विदेशमा बसेर फर्किएका सबै श्रमजीवीसँग कुनै न कुनै प्रकारको सीप वा ज्ञान हुन्छ । त्यस्तो ज्ञान र सीपलाई पहिचान गरेर त्यस्ता युवाहरूलाई तत्तत् क्षेत्रसँग जोड्ने सरकारी नीति हुने हो भने विशेष गरी कृषि क्षेत्रमा ठूलो र युगान्तकारी परिवर्तन आउने सम्भावना रहन्छ । सरकारले ठूलो खर्च गरेर दिनुपर्ने प्रशिक्षण उनीहरूले सित्तैमा सिकेर आएका हुन्छन् । तर यस्तो सीप र ज्ञानलाई उपयोग गर्ने नीति नहुँदा त्यस्सै खेर गइरहेको छ । पानीमा विजुली हुन्छ भन्ने सत्यबोध भएर मात्र के गर्नु ?, निकाल्न जानिएन भने त्यस्सै खेर जान्छ ।

सरकारलाई देश विकासको लागि विदेशिएका युवाशक्तिको साँच्चै खाँचो महसुस हुन्छ भने उनीहरूलाई आव्हान गर्न जान्नुपर्यो । त्यस्ता जनशक्तिलाई प्रोत्साहन गर्न जान्नुपर्यो । विश्व बजारमा छरिएर रहेका गोकुलजस्ता युवालाई चिन्न सक्नुपर्यो । देशलाई उनीहरूको खाँचो भएको महसुस गराउन सक्नुपर्यो ।

तर फेरि पनि प्रश्न उठ्छ– यस्तो पवित्र प्रयासको आरम्भ कसले र कहिले गर्ने ??

(लेखक उप्रेती केही समयदेखि अमेरिकाको टेक्सास राज्यमा हुनुहुन्छ ।)

 

सम्बन्धित समाचार