नवकान्तिपुर संवाददाता
वीरगञ्ज (पर्सा), २३ असार ।


विकट गाउँका रुपमा परिचत पर्साको ठोरी गाउँपालिका–३ शिकारीबासका करिब ७० घरधुरी अझै टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित छन् ।
ठोरीको हुलाकी सडकबाट करिब छ किलोमिटर भित्री भागमा पर्ने शिकारीबासका सर्वसाधारण टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित भएको स्थानीय भरत महतो थारुले गुनासो गर्नुभयो ।
टेलिफोनको टावर नटिप्दा फोन सम्पर्क गर्न नसकिने उहाँले बताउनुभयो । “यहाँ फोन नटिप्ने पुरानै समस्या हो”, उहाँले भन्नुभयो, “टेलिफोनजस्तो अत्यावश्यक सेवाबाट वञ्चित हुनुपरेको छ ।” मोबाइलमा टावर उपलब्ध गराउन रुख चढ्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शिकारीबासमा टेलिफोन र इन्टरनेट सेवाको आवश्यक प्रबन्ध मिलाउन नेपाल टेलिकम प्रादेशिक कार्यालय वीरगञ्जलाई निर्देशन दिनुभएको छ ।
“अबको डेढ महिनाभित्र आवश्यक संरचना तयार पारेर टेलिफोनजस्तो अत्यावश्यक सेवा सुचारु गर्नेतर्फ आवश्यक गृहकार्य गर्नुहोस्”, उहाँले भन्नुभयो, “प्रशासनको तर्फबाट गर्नुपर्ने सबै खालको सहयोग गरिनेछ ।”
नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीले ठोरीको टेलिकम टावरको क्षमता अभिवृद्धिदेखि फाइबरमार्फत शिकारीबासमा नेटवर्कको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ । “जङ्गलको मध्यभागको बस्ती भएकाले नेटवर्कको समस्या देखिएको हो”, उहाँले भन्नुभयो, “अत्यावश्यक उपकरण जडान गरेर फोन र इन्टरनेट उपलब्ध गराउने प्रयास गर्नेछौँ ।”
