

नेपाल–चीनको सिमानाको भोटेकोशी नदीमा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ ।
बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्लाअधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताउनुभयो ।
हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।
बाढीले भन्सार यार्डमा रहेका कन्टेनर र विद्युतीय गाडी बगाउनुका साथै रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको छ । बाढीका कारण भन्सार यार्डमा ९ स्थानीय, १ प्रहरी र सशस्त्र प्रहरी गरी ११ जना फसेका छन्, उद्धारको प्रयास जारी छ।
