ल्हेन्दे खोला बाढी : तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा (सूचीसहित)

नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

ल्हेन्दे खोलामा आएको बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको र ११ जनाको उद्धार गर्न बाँकी रहेको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले उनीहरुको उद्धारको प्रयास जारी रहेको बताउनुभयो ।

यसैबीच नेपाली सेनाको हेलिकोप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर अहिले बाढीमा फसेकाहरुको उद्धार कार्यमा सक्रिय रहेको प्रजिअ पौडेलले बताउनुभयो ।

ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सिमामा रहेको मितेरी पुल बगाएको छ । बाढीका कारण स्याँफ्रुबेँसी–रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ ।

बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

क्षतिको पूर्ण विवरण आइनसकेको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक रामहरि खड्काले जानकारी दिनुभयो ।

बेपाता हुनेमा
नेपाल प्रहरी
इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा

बेपत्ता हुने ६ जना चिनियाँ नागरिक
YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG



बेपत्ता हुने नेपाली नागरिकहरु
बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन् ।

सम्बन्धित समाचार