नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ स्याउलेस्थित सडकमा म.१ ह. ८५८ नम्बरको अटोको ठक्करबाट पैदल यात्री सोही नगरपालिका–६ बस्ने ५५ वर्षीया लक्ष्मी ढुङ्गानाको बुधबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै अटोको ठक्करबाट घाइते भएका अन्य १ जना पैदल यात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै झापाको बाह्रदर्शी गाउँपालिका–१ खैरबारीस्थित सडकमा बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र प्र–१–०१–०१६प ९२७० नम्बरको स्कुटर ठक्कर खाई बुधवार दिउँसो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक कचनकवल गाउँपालिका–३ बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी, स्कुटरमा सवार सोही ठाउँ बस्ने २७ वर्षीया उर्मिला राजवंशीको छोरा ३ वर्षीय आयुष राजवंशी र मोटरसाइकल चालक भारत किशनगंज डिगलबैंक बस्ने २५ वर्षीय सुरज टुडु रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर र मोटरसाइकल चालकको प्रादेशिक अस्पताल भद्रपुर र आयुषको विएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार उर्मिलाको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
यता ललितपुरको ललितपुर महानगरपालिका– १ कुपण्डोलस्थित सडकमा बाग्मती प्रदेश ०१–००३ क ९२४८ नम्बरको ट्याङ्करको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको बुधवार बेलुकी मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिका–१४ स्थित सडकमा ग.७ प ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधवार राति दुर्घटना हुँदा सोही ठाउँ बस्ने चालक सोही ठाउँ बस्ने १९ वर्षीय बिष्णुकुमार महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको बयोधा अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
