हत्या गरेको अभियोगमा दुई जना पक्राउ

देशका विभिन्न स्थानबाट हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ४० वर्षीया खिमा देवी भुलको हत्या गरेको अभियोगमा डडेलधुरा, गन्यापधुरा गाउँपालिका-३ डिल बस्ने ५४ वर्षीय करन भुललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

करनले बिहीबार राति हँसिया प्रहार गरी खिमाको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै रूपन्देहीको सियारी गाउँपालिका-३ कुरमार बस्ने २८ वर्षीय नागेश्वर चौधरीको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-८ गठुवा बस्ने २४ वर्षीय पाहलद थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

पाहलदले बुधबार कुटपिट गर्दा नागेश्वर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका नागेश्वरको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार