नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ शान्तिनगरस्थित सडकमा बि एए ३६०२ नम्बरको कारले लु.१२ प ५०४० नम्बरको मोटरसाइकललाई बिहीबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका-३ लालपुर बस्ने ३५ वर्षीय गोबिन्द चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रूपन्देही, ओमसतिया गाउँपालिका-४ बालापुरस्थित सडकमा भैरहवाबाट धकधईतर्फ जाँदै गरेको लु.६३ प ४२२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६४ वर्षीय बिसम्बर प्रसाद कान्डुको बिहीबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ आवारोडस्थित सडकमा देवकोटाचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको लु.९५ प १४८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक तिलोत्तमा नगरपालिका-६ मणिग्राम बस्ने २० वर्षीय करण कुँवर क्षेत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-३ भुपती चोकस्थित सडकमा गिरूवारीबाट बसन्तपुरतर्फ जाँदै गरेको ग.७ प २७२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-३ बस्ने ३० वर्षीया शोभा सिग्देलको बिहीबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य एक जना पैदलयात्रीलाई उपचारको लागि काठमाडौं रिफर गरिएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

