नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।


मधेशमा खानेपानीको अभाव देखिएसँगै समस्या समाधानका लागि सांसदहरुले ध्यानाकर्षण गराउनुभएको छ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले खानेपानीको हाहाकारले निम्तिएको परिस्थितिलाई सम्बोधन गर्न माग गर्नुभएको हो ।
सांसद आनन्दप्रसाद ढुङ्गानाले मधेशमा खानेपानी समस्या तत्काललाई मात्र नभई दीर्घकालीन रुपमा नै समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “खेत त बाँझो भएको छ नै खानेपानी समेत नपाउने स्थिति देखिन्छ । आगो निभाउने बारुणयन्त्र खानेपानी ओसार्न प्रयोग भइरहेका छन् । यो तत्कालको मात्र होइन दीर्घकालीन समस्या हो । यसको हल गर्नुपर्छ । दीर्घकालीन योजना बनाएर जानुपर्छ ।”
सांसद शेखरकुमार सिंहले सुक्खाग्रस्त समस्या मधेशमा मात्र होइन आउने दिनमा मेचीदेखि महाकालीसम्मै पुग्ने देखिएकाले यसलाई सम्बोधन गर्नु आवश्यक भएको बताउनुभयो । “सङ्घीय सरकारले यथाशीघ्र खानेपानी र सिँचाइ व्यवस्था गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
