नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।


प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले सडक, सिँचाइ, जलवायुको जोखिम, मलखाद, बालबालिकामाथि हुने दुर्व्यवहार, मुलुकका राष्ट्रिय समस्या र किसानले व्येहोरिरहेका विभिन्न समस्यालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद सराज अहमद फारुकीले कपिलवस्तुमा आर्थिक विकासको कमी, पूर्वाधारको अभाव, शिक्षा र बेरोजगारीको समस्या रहेको तथा सामाजिक असमानता, जातीय भेदभाव र राष्ट्रिय एकताको चुनौती, प्राकृतिक विपद्को जोखिम रहेको भन्दै यसको समाधानका लागि तीनै तहका सरकारको प्रभावकारी समन्वय आवश्यक पर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सरिता भुसालले डिजिटल कारोबार गर्नेलाई विदेशी मुद्रा भित्र्याउन कठिनाइ भइरहेको भन्दै सहजीकरण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शान्ति चौधरीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को स्मार्टकार्ड तथा राष्ट्रिय परिचयपत्र नागरिकले समयमा पाउन नसकेका भन्दै शीघ्र र सहज रूपमा पाउने व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सीताकुमारी रानाले आज पनि देशका विभिन्न ठाउँमा निर्दोष बालबालिकामाथि हुने हिंसा, श्रम शोषण, यौन दुव्र्यवहारलगायत घटना बढिरहेका भन्दै यस्ता निन्दनीय कार्यले उनीहरूको भविष्यमाथि खेलबाँड भइरहेकाले बालबालिकामाथि हुने सबै प्रकारको भेदभाव र हिंसाजन्य गतिविधि अन्त्य गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सीता मिजारले जलवायु परिवर्तनका कारण वर्षा नहुनु, देशभर सर्पदंशका घटना बढ्नुलगायत समस्या भइरहेको बताउँदै सर्पदंशका बिरामीले समयमा उपचार नपाएर अकालमै ज्यान गुमाइरहेकाले सहज उपचार सेवा विस्तार गर्न माग गर्नुभयो ।
उहाँले सर्पदंशका कारण अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रत्येक गाउँपालिकामा सर्पदंशको सहज, सुलभ र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुनिता बरालले आजभोलि आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको भन्दै नेपाल प्रहरीमा भएको आर्थिक वर्ष २०८१/८२ को तथ्याङकअनुसार एक वर्षमा छ हजार १०२ जनाले आत्महत्या गरेका जानकारी दिनुभयो । उहाँले झुण्डिएर आत्महत्या गर्नेकोसङ्ख्या मात्रै पाँच हजार १०० रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई साइबर सुरक्षासम्बन्धी शिक्षा र मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन अपरिहार्य भएको बताउनुभयो ।
सांसद सुरेन्द्रराज आचार्यले नारायणगढ–बुटवल सडकखण्ड पटकपटक समयावधि थपिँदा पनि निर्माण सम्पन्न हुन नसकेकाले यसबाट यात्रुले सास्ती व्येहोर्नुपरेको भन्दै शीघ्र निर्माण सम्पन्न गराउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुशीला सिर्पाली ठकुरीले मुलुकमा पुनःलोडसेडिङको त्रास बढेको भन्दै जनताका समस्याप्रति गम्भीर बन्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुशीला श्रेष्ठले उदयपुर चौदण्डीगढी नगरपालिकाको चटपटे बसाहथान, बर्खेडाँडा, माडिबास हुँदै बेल्टार जाने बाटो निर्माणमा ढिलाइ भएको भन्दै शीघ्र निर्माण गर्न÷गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सूर्यप्रसाद ढकालले प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमणका क्रममा नेपालगञ्ज–दिल्ली हवाई उडाको अनुमति प्राप्त गर्ने विषय, नेपालगञ्ज भन्सार नाकालाई खुला सुक्खा बन्दरगाहका रूपमा विस्तार गर्नेलगायत विषयलाई मुख्य एजेण्डा बनाउन सफामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सञ्जयकुमार गौतमले पूर्व–पश्चिम राजमार्गमा सडक डिभाइडर आतङ्कले यात्रालाई असहज बनाइरहेको, ट्राफिक जाँचका नाममा नागरिकलाई आतङ्कित बनाइएको भन्दै सडक डिभाइडर र ट्राफिक चेकजाँच हटाउन सरकारसमक्ष माग गर्नुभयो ।
सांसद हर्कमाया विश्वकर्माले इलामको इलाम नगरपालिकाका एम्बुलेन्स चालक अरुण सेन्चुरीलाई प्रतिशोध साँचेर नगरपालिकाका उपप्रमुखले कामबाट निष्कासन गरेको भन्दै मजदुरमाथि जनप्रतिनिधिले गरेको व्यवहारको निन्दा गर्दै निजको रोजगारी सुनिश्चित गर्न माग गर्नुभयो ।
सांसद हितराज पाण्डेले जलवायु परिवर्तनका कारण विभिन्न प्राकृतिक विपद्का घटना बढिरहेका, गोरखाको पालुङटारमा सिँचाइको अभावले धान रोप्न किसानलाई समस्या भइरहेको भन्दै पानीको स्रोत सङ्कलन गर्ने आयोजना सञ्चालन गरेर तराईका सुक्खा र पहाडका पानी नभएका स्थानमा पानीको व्यवस्थापन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद हेमराज राईले प्रतिनिधिसभाबाट ‘भिजिट भिसा’ सम्बन्धमा छानबिन तथा सुझाव समिति गठनको माग गरी संसद् बहिस्कार गर्दै जथाभाबी बोलिरहेका दलका प्रतिनिधिलाई त्यसरी बोल्न कहिलेसम्म दिने हो? भनी प्रश्न गर्नुभयो ।
सांसद हृदयराम थानीले राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले गत पुस ४ गते सर्वसम्मतिले पारित गरेको अख्तियारसम्बन्धी विधेयक छलफल नगरी थन्क्याएर राखिएको भन्दै उक्त विधेयकमाथि समितिमा तत्काल छलफलको वातावरण मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ज्ञानु बस्नेत सुवेदीले विद्यालय शिक्षासम्बन्धी विधेयक अलपत्र अवस्थामा रहेको भन्दै यसलाई शीघ्र अगाडि बढाउन सरकारसमक्ष माग गर्नुभयो ।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अन्नको भण्डार मधेसमा लामो समयदेखि सुक्खा हुँदा त्यहाँको अवस्था भयावह बनिरहेको भन्दै सरकारले हालै मधेसलाई विपद् सङ्कटग्रस्त घोषणा गर्नु स्वागतयोग्य भए पनि केवल घोषणाले मात्रै किसानको समस्या समाधान नहुने बताउनुभयो । उहाँले उक्त घोषणको कार्ययोजनाका साथ कार्यान्वयन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
