नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ साउन ।


राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले शिक्षा विधेयकलाई छिटो पारित गर्ने विषयमा संसद् संवेदनशील रहेको बताउनुभएको छ ।
नेपाल व्यवस्थापन तथा विज्ञान संस्थान (निम्स) ले शनिबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा उहाँले शिक्षक महासङ्घसँग भएको सम्झौताअनुसार नै शिक्षा विधेयक छिटो पारित गर्ने विषयमा संसद् संवेदनशील रहेको बताउनुभएको हो ।
“विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा रहेको छ । हामी यसै बजेट अधिवेशनबाट पारित गर्ने विषयमा संवेदनशील छौ”, उपाध्यक्ष घिमिरेले भन्नुभयो, “शिक्षक महासङ्घसँग भएका सम्झौताअनुसार नै विद्येयकलाई अन्तिम रूप दिनका लागि समितिले दिनरात नभनेर काम गरिरहेको छ ।”
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन बनाउने कुरामा सरकारदेखि संसद् र राजनीतिक दल गम्भीर हुनुपर्ने बताउँदै उहाँले नागरिक तहबाट पनि सरोकार भएकलाई झक्झकाउन जरूरी रहेको धारणा राख्नुभयो ।
उपाध्यक्ष घिमिरेले युवाहरूको क्षमता र प्रतिभाको सदुपयोग गर्न सरकारले रोजगारी सिर्जनामा लाग्नुपर्ने भन्दै यस गर्नसके देशमै रहन प्रेरित भई आवश्यक मानव संशासनको कमी नहुने बताउनुभयो ।

