नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक ४७ दशमलव ९३ अङ्कले घटेर दुई हजार ९५४ दशमलव १४ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५९ प्रतिशतको गिरावट हो ।
बुधबार ३२७ कम्पनीको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर एक लाख ४१ हजार ५२० पटक खरिदबिक्री हुँदा रु १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ बराबरको कारोबार भएको हो । बुधबारको कारोबारमा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक र लघुवित्त समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ ।
सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव चार प्रतिशतले घटेको छ ।
