नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० साउन ।


सर्लाहीको बागमतीका नगरपालिकाका मेयर भरतकुमार थापालाई ८ वर्ष कैद सजाय भएको छ । विशेष अदालतले बिहीबार भ्रष्टाचार मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका निलम्बित मेयर थापालाई ८ वर्ष कैद र १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ जरिवाना र त्यत्ति नै रकम थापाबाट असुलउपर हुने सजाय तोकेको हो ।
साथै सोही भ्रष्टाचार मुद्दामा बागमती नगरपालिकाकाकै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पोखरेल र पालिकाका योजना प्रमुखसमेत रहेका इन्जिनियर पौडेललाई पनि जनही ८ वर्ष कैद, १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ जरिवाना र त्यत्ति नै रकम असुलउपर हुने गरी सजाय निर्धारण भएको छ ।
बागमतीको भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ बिक्रीमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बिहीबार विशेषले तीनै जनालाई सजाय निर्धारण गरेको हो ।

