टप एण्ड टी–२० सिरिजमा नेपाल मेलबर्न स्टार्ससँग पराजित

अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

डार्बिनस्थित टिआइओ रङ्गशालामा सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको हो । यससँगै तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको थियो ।

सोमबार मेलबर्न स्टार्स एकेडेमीले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रनमा समेटियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए । उनको त्यो अर्धशतक नेपालको जितको लागि प्रयाप्त भएन । उनले ४९ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ५३ रन जोडेका हुन् ।

त्यसैगरी कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५ तथा कुशल मल्लले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । मेलबर्न स्टार्स एकेडेमीका लागि अस्टिन अन्लेजार्क र डग वारेनले समान दुई-दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । त्यसैगरी थोमस रोजर्सले ६५ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र शाहब आलमले समान एक-एक विकेट लिए ।

सम्बन्धित समाचार