

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगत केही समयदेखि देशको विदेश नीति असन्तुलित भएकाले वैदेशिक हस्तक्षेप बढेको बताउनुभएको छ ।
फाउण्डेशन फर पिस, डेभलपमेण्ट एण्ड सोसलिज्मद्वारा आइतबार आयोजित ‘काष्ठमण्डप डायलग’को शुभारम्भ गर्दै उहाँले विभिन्न समयमा राष्ट्रिय हित विपरीत गरिएका सन्धिसम्झौताका कारण मुलुकको सार्वभौमिकता संकटमा परेको बताउनुभयो ।
अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी)लगायतका सम्झौताले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्न नसकेका कारण पनि देशको राष्ट्रियता खतरामा रहेको उहाँको भनाइ छ । उहाँले आफू प्रधानमन्त्री हुँदा एमिसिसी परियोजनाबारे कुनै प्रक्रिया अघि नबढेको प्रष्ट पार्नुभयो ।
बामपन्थी नेता एवं नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले एमसिसी सम्झौतामा अघि सारिएका धेरै सर्त देशको हितमा नरहेकाले ती सर्त मान्य नहुने चेतावनी दिनुभयो ।
एमसिसी परियोजना अध्ययन समिति संयोजक डा भीम रावलले संयुक्त राज्य अमेरिकाले उक्त परियोजनामा ‘इन्डोप्यासिफिक स्ट्राटेजी’का विषय समावेश गरेको बताउँदै नेपालले व्याख्यात्मक घोषणा गरी पठाएको प्रतिवेदन अमेरिकाले लागू नगरेकाले उक्त परियोजनामा आशंका व्यक्त गर्नुभयो ।
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले राष्ट्रको हितमा निशर्त प्रयोग गर्न ल्याइने वैदेशिक सहायता ठिक भएपनि नेपालको कानुनले नियन्त्रण गर्न नसक्ने गरी ल्याइने कुनै हालतमा स्वीकार्न नहुने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमसिसी परियोजना कार्यान्वयनपछि अमेरिकाले ल्याउने नागरिकको केही पनि चेकजाँच गर्न नमिल्नेजस्ता प्रावधानले जोखिमपूर्ण रहेको उल्लेख गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले छिमेकी राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिझाउन खोजे ठूलो दुर्भाग्य आउन सक्ने सम्भावना रहेकाले त्यसप्रति सचेत हुन आग्रह गर्नुभयो ।
फाउण्डेशन फर पिस डेभलपमेण्ट एण्ड सोसिलिज्मका अध्यक्ष विकेमान सिंहलगायतले छिमेकी देश भारत र चीनका विरुद्ध नेपालमा कुनै गतिविधि भएमा नेपालको अस्तित्वमाथि खतरा पैदा हुनेमा चिन्ता व्यक्त गर्नुभयो ।

