प्रकृति नै सबभन्दा पुरानो धर्म !

अध्ययन अनुसन्धान गर्दा थाहा हुन्छ कि आजभन्दा १० हजार वर्षअघि कुनै संगठित धर्म अस्तित्वमा थिएन। आज हामी जसलाई धर्म भन्छौं, त्यो समयसँगै विकास भएको, मानव चेतनाले निर्माण गरेको एक सामाजिक-आध्यात्मिक संरचना हो।

इतिहासले देखाउँछ कि धर्महरू कुनै समयमा कुनै एक विशेष व्यक्तित्बाट सुरु भएका थिए। चार हजार वर्षअघि हजरत इब्राहिमको आगमनसँगै यहूदी धर्मको जग बस्यो। त्यसपछि विभिन्न धाराहरूमा फैलिंदै जाँदा आजका विविध धर्म विकसित भए। करिब दुई हजार वर्षअघि जिसस क्राइस्ट आए, इसाई धर्मको आधार बने । १४ सय वर्षअघि पैगम्बर मोहम्मद आएपछि इस्लाम धर्म स्थापन भयो।



पूर्वीय धर्मदर्शन हेर्दा हिन्दू धर्म, जसलाई सनातन धर्म पनि भनिन्छ, यसको जरा अझ प्राचीन मानिन्छ। धार्मिक मान्यताअनुसार भगवान राम करिब सात हजार वर्षअघिका पात्र हुन् भने भगवान कृष्ण र महाभारतकाल करिब ३ हजार ५०० देखि ५ हजार वर्ष पुराना ठानिन्छन्। वेद, उपनिषद् र ग्रन्थहरूको रचना वेदव्यास, वाल्मीकि, पाणिनि जस्ता ऋषिमुनिहरूद्वारा करिब २ हजार ५०० – ३ हजार ५०० वर्षको अवधिमा भएको मानिन्छ।

३ हजार ५०० वर्ष पहिला संस्कृत भाषा बनेपछि मात्र श्रुति परम्परामा रहेका यी ग्रन्थहरू संस्कृत भाषामा लिपिबद्ध भए । संस्कृत भाषालाई संसारका प्राचीनतम् भाषा मधये एक मानिन्छ l यसै कालावधिका गीता, महाभारत, वेद, उपनिषद र वेदान्तहरू हामीले पढ्नुपर्ने र बुझ्नुपर्ने ग्रन्थहरू र दर्शन् हुन् l

त्यसपछि २ हजार ५०० वर्षअघि बुद्ध आए। उनले बौद्ध धर्मको जग राखे। उनीप्रति आज पनि ज्ञानको ज्योति भनेर श्रद्धा गरिन्छ। महावीरको आगमनसँगै करिब २ हजार ६०० वर्षअघि जैन धर्म विस्तार भयो। बुद्ध र जैन दर्शनले आफुभित्र परमानंद र परमात्मा खोज्न सिकाए । करिब ५०० वर्षअघि गुरु नानकले सिख धर्मको स्थापना गरे, जसले एक ईश्वर एक मानवता को सन्देश दिए।

यी सबै धर्म कुनै दिव्य सत्ता वा परमेश्वरले अचानक सिर्जना गरिदिएको होइन। यी सबै महान् व्यक्तित्वहरू, उनीहरूको खोज तपस्या, दर्शन, अनुभूति र समाज सुधारको प्रयासबाट धर्म जन्मिएको हो। ती सबै मानवता, सहिष्णुता र प्रेमका दीप हुन्। धर्म उनीहरूको शिक्षाबाट बनेको मार्ग हो,जसले शान्ति, करुणा र सत्मार्ग देखाउँछ।

तर समयक्रममा केही व्यक्तिहरूले धर्मलाई आफ्नै स्वार्थ अनुसार परिभाषित गर्न थाले। धर्मको नाममा युद्धहरू भए, विभाजनहरू भए l मान्छेमा घृणा भरियो र आजसम्म पनि धर्मलाई राजनीति र सत्तागमनको साधन बनाउने क्रम जारी छ।

धर्मका धेरै पक्षहरू प्रमाणमा आधारित नहुन सक्छन् तर पुरातात्त्विक खोजहरू, ग्रन्थ आलेखको अध्ययन र प्राचीन अवशेषहरूले केही कुरा पुष्टि गर्छन्। उता डार्विनको विकासवाद सिद्धान्त पनि अवलोकन, परीक्षण, कल्पनाशीलता र प्रमाणको संयोजनबाट बनेको हो।

धर्म दर्शन केवल कपोकल्पित कुरा मात्र होइन र विज्ञान पनि केवल तथ्य मात्र होइन। दुवैमा कल्पना, खोज, अनुभव, परीक्षण, प्रमाण र चेतनाको योगदान हुन्छ।

अब सोच्न सकिन्छ धार्मिक दर्शनहरू जन्मिनुअघि कुनै धर्म थियो वा स्वरूप कस्तो थियो? सत्ययुग वा त्यस कालको मानव चेतना र समाज कस्तो थियो? यी प्रश्नहरूको उत्तर पाउन सहज छैन।

सबै धर्मको सार परम सत्यको खोज, अहिंसा र करुणाको अभ्यास, मानवता र सह-अस्तित्व, प्रकृति संरक्षण, प्रेम र आत्मज्ञान वा आत्म उन्नति नै हो। हामीले कुन धर्म पुरानो? कुन ठूलो? कुन सत्य? कुन झूटा? भनेर होड गर्नुको साटो धर्मको मर्म बुझ्नुपर्छ।

‘तत्वमसि’ अर्थात व्यक्तिगत आत्मा (जीव/आत्मन्) र परम सत्य (ब्रह्म) बीच कुनै भिन्नता छैन, दुबै एउटै हुन्। यसले अद्वैत वेदान्त को मूल सिद्धान्तलाई प्रकट गर्छ, जसले भन्छ कि आत्मा र ब्रह्म एउटै चिज हुन्।

(हाल- टेक्सास, संयुक्तराज्य अमेरिका)

सम्बन्धित समाचार