संविधानपछिको दशक : जेनजी पुस्ताको विद्रोहले पुरानो नेतृत्वलाई चुनौती, काङ्ग्रेसभित्र पुस्तान्तरणको मुद्दा

दश वर्षअघि २०७२ सालमा लामो प्रतीक्षापछि नेपालको संविधान, २०७२ जारी भयो । तर त्यो सहज अवस्थामा आएको थिएन । विनाशकारी भूकम्पले मुलुकलाई भत्काएको, हजारौँ नागरिक घरबारविहीन भएको र समाज गहिरो आघातमा रहेको बेला आएको संविधानले जनतालाई एउटा आशाको सञ्चार जगाएको थियो ।

दशकपछि मुलुक फेरि अर्को जटिल मोडमा उभिन पुगेको छ । गत भाद्र २३–२४ गते सडकमा देखिएको जेनजी पुस्ताको आन्दोलनले दशकअघिको बेचैनीलाई पुुनः स्मरण गराएको छ । यस आन्दोलनले पुरानो राजनीतिक संरचनालाई चुनौती दिँदै नयाँ नेतृत्व र राजनीतिक संस्कृतिको मागलाई जोडदार रूपमा उठाएको छ ।

जेनजी आन्दोलनका सम्बन्धमा समीक्षकहरू भन्छन्– ‘यो केवल युवाहरूको असन्तुष्टिको स्वर मात्र होइन, सुशासन, समृद्धि, भ्रष्टाचाररहित समाज र नेतृत्वमा पुस्तान्तरणको युगीन मागको अभिव्यक्ति पनि हो ।’ समयको मुख बन्द गर्ने कुचेष्टा गर्ने शासकहरूलाई बुझाउने भाषा आन्दोलन हो । अहङ्कारी नेतृत्वले शिष्ट र शालीन भाषा बुझ्दैन वा बुझ्न चाहँदैन । त्यसैले इतिहासमा पनि यस्ता आन्दोलनहरू भइरहेका पाइन्छन् ।

नेतृत्वले समयको मर्यादित आवाज वा भाषालाई नबुझ्दा भाद्र २३ का दिन जेनजीहरू उनीहरूले बुझ्ने भाषामा प्रस्तुत भए । स्कुल कलेजको ड्रेसमा गोजीमा कलम र दिमागमा विद्रोह बोकेर सडकमा उत्रिएका युवा–युवतीप्रति राज्य असहिष्णु भएर बर्बर रूपमा प्रस्तुत भयो । कलिला बालबालिकाहरू सडकमा आउनुको कारण बुझ्नुको सट्टा राज्य आफ्नै कर्णधारप्रति निर्मम भएर ताकी ताकी गोली ठोक्न थाल्यो । सडक रक्ताम्य हुँदा समेत राज्य नरम बनेन र आफ्नै सन्तानको एकपछि अर्को हत्या गर्दै गयो । २३ गते युवाको रातो रगतले लतपतिएको सडकले २४ गते उग्र रूप लियो, जुन स्वभाविक पनि थियो ।
भाद्र २४ गते भएको तोडफोड र आगजनीको घटना निःसन्देह अधिल्लो दिनको सरकारी दमनको बाइ–प्रोडक्ट थियो । २३ गते रातीसम्ममा पनि सरकारले अवस्थाको गम्भीर समीक्षा गर्दै प्रधानमन्त्रीले राजीनामा दिएर जेनजी युवाहरूलाई वार्ताको लागि आव्हान गरेको भए परिस्थितिले भिन्न रूप लिन सक्थ्यो वा २४ गतेको अप्रिय घटना घट्ने नै थिएन । तर स्वार्थ र अभिमानले फुलेको सरकारले तीनकुनेको घटनाजस्तै फासफुस पार्ने पार्न सकिने सोच बनाउँदा अप्रिय घटना घट्न पुग्यो । र, अनाहकमा देशका कर्णधार धेरैको ज्यान गयो भने अझै धेरै अस्पतालका शैयामा छटपटाइरहेका छन् ।

दमन र तोडफोड दुबैको छानबिन माग

अहिले तत्कालीन सरकारद्वारा भाद्र २३ मा गरिएको दमन र त्यसको भोलिपल्ट देशभरि भएको आगजनी र तोडफोडका घटनाहरूको निष्पक्ष छानबिन गर्न माग बढेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई दोषी पहिचान गरी कानुनी कारबाही गर्न चौतर्फी दबाब बढेको अवस्था छ । नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन पनि निहत्था बालबालिकालाई गोली हान्ने आदेश दिने र जेनजीका नाममा घुसपैठ गरी सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्नेहरूको पहिचान गरी उनीहरूलाई कानुनी दायरामा ल्याउनु राज्यको कर्तव्य पनि हो ।
जेनजीको आन्दोलनको अन्तर्य सरकार परिवर्तन मात्र होइन । सुशीला कार्की सरकारलाई नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउन र जेनजी आन्दोलनको भावनाको सम्मान गर्नका लागि गर्नुपर्ने धेरै कामहरू छन् । सबै कामहरू एकैचोटी सम्भव हुँदैन तर कामहरूको प्राथमीकरण गरेर अगाडि बड्नुको विकल्प छैन ।

२०४६ सालपछि सार्वजनिक पदमा बसेका सबै नेताहरू र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने, आन्दोलनका क्रममा निवासमा भेटिएका पैसाको स्रोत खोज्ने, राजनैतिक पहुँचका आधारमा हिजो बन्द गरिएका भ्रष्टाचारका फाइलहरू खोलेर दोषीलाई दण्ड दिने, राजनैतिक प्रतिशोधका आधारमा जेलमा पठाइएकाहरूलाई न्याय दिने, निजामतीतर्फ मात्र हैन, विश्वविद्यालयहरूमा रहेका आंशिक र करारका शिक्षकहरूलाई पनि हटाउने, ट्रेड युनियनहरू सुशासनका बाधक हुन्, यिनीहरूमाथि बन्देज लगाउने, नागरिकको काम छिटो छरितो ढङ्गबाट हुने व्यवस्था मिलाउने लयायत समयमा निर्वाचन गराउने आदि कार्की सरकारका प्राथमिकतामा पर्नुपर्छ ।

यो सरकार जेनजी आन्दोलनको उपज हो । जेनजी आन्दोलनको मुख्य नारा ‘भ्रष्टाचार रोकौं’ थियो । त्यसैले पनि भ्रष्टहरू, भ्रष्टाचारमा उक्साउने र उनीहरूलाई संरक्षण गर्नेहरू, सुशासनका बाधकहरू तथा जेनजी आन्दोलनको अवमूल्यन गर्नेहरू सबैलाई दण्डित गरिनुपर्छ । उनीहरूले टाउको उठाउन पाए भने आन्दोलनको उपलब्धिलाई शून्य बनाइदिन सक्छन् । त्यसका विरुद्धमा गरिने अर्को आन्दोलनलाई देशले थेग्न सक्तैन ।

काङ्ग्रेसमा गहिरो सङ्कट
जेनजी आन्दोलनको सन्देश सबैभन्दा बढी नेपाली काङ्ग्रेस लक्षित देखिन्छ । लोकतन्त्र स्थापनामा निर्णायक योगदान दिएको यो दल आज दिशाविहिन मात्र होइन, नेतृत्व सङ्कट र चरम गुटबन्दीमा फँसेको प्रतीत हुन्छ । पुराना र जीर्ण भइसकेका नेताहरूले नयाँ पुस्तालाई लोकतान्त्रिक ढङ्गले जिम्मेवारी हस्तान्तरण गर्न नरुचाउँदा काङ्ग्रेस पार्टीको छवि धमिलो बन्दै गएको छ । यसलाई उजिल्याउने कार्य पार्टीका इमाानदार कार्यकर्ताहरूको हो ।

विश्व इतिहासले देखाएको छ कि समयमै पद हस्तान्तरण गर्ने नेताहरू नै सम्मानित हुने गरेका छन् । आजीवन कुर्सीमा टाँसिइरहन रुचाउनेहरू या त बलात् हटाइएका छन् या त जनमानसमा अस्वीकृत भएर कुहिएको फल झैं झरेका छन् । त्यसैले डाइपर होस् कि नेतृत्व, समय समयमा फेरिइरहनु पर्छ भनिन्छ । नत्र साह्रै गन्हाउँछ । अहिले भएको त्यस्तै हो ।

हरेक दलभित्र गन्हाएकोलाई ‘गन्हाएको होइन, बास्ना आएको हो’ भन्ने स्वार्थ समूह पनि हुन्छ । इमानदार र निष्ठावान कार्यकर्ताले त्यस्ता चाकडीबाजलाई पहिचान गरी नफ्याँकेसम्म सिङ्गो पार्टीलाई दुर्गन्धित बनाइदिन्छ । काङ्ग्रेसभित्र पनि नेतृत्वको चाकडी गरेर लाभ लिनेहरूको लाइन लामै छ । त्यसैले पनि समाजले आशा गरेका र सम्भावना बोकेका नेताहरूले अब नयाँ ढङ्गले सोचेर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । पार्टीलाई नयाँ ढङ्गले गतिशील बनाउनु पर्ने भएको छ । गठबन्धनका नाममा एमालेले गरेका नराम्रा कामको भारी बोक्ने हुँदा काङ्ग्रेसलाई ठूलो क्षति भएको कुरामा दुईमत छैन । काङ्ग्रेस नेतृत्वले नै गरेका पदीय आचरणविपरीत कामलाई ‘गलत’ भन्न नसक्ता पनि सिङ्गो पार्टीको शाख गिरेको छ । यसलाई पार्टीले औपचारिक रूपमा स्वीकार गरेर अब रुपान्तरण र पुस्तान्तरणको मुद्दालाई सशक्त ढङ्गले उठाउन सक्नुपर्छ ।

अनुभवबाट फाइदा लिन सक्ने हो भने जेनजी आन्दोलनले सबै पार्टीलाई नयाँ ढङ्गबाट सोच्ने अवसर पनि प्रदान गरेको छ । देश चलाउने पार्टीहरूले नै हो । तर पार्टीहरू खरिपाटी बन्नु भएन । डाइपरजस्तो बन्नु भएन । पार्टीहरू गन्हाएकैले र पथभ्रष्ट बनेकोले जेनजी आन्दोलन भएको हो । अझै पनि पार्टीहरूमा चेतना आएन र सुधार भएन भने भोलि अर्को कुनै नाममा फेरि अर्को आन्दोलनको आगो दन्किन सक्छ । त्यसले के के डढाउने हो, आजै अनुमान गर्न गाह्रो छ ।

सम्बन्धित समाचार