

नेपालमा अवसर कम होलान्, काम पनि सजिलै पाइँदैन होला तर यहाँ अमेरिका वा युरोपमा जस्तो एक महिना बिल तिर्न नसक्ता सडकमा पुग्नुपर्ने तनाव छैन । यहाँ युरोप–अमेरिकाजस्तो सुविधा सम्पन्न घर–गाडी नहोलान् तर सबैका घरमा बाआमा छन्, परिवार छ, छिमेकी छन्, साथीभाइबीच भेटघाट हुन्छ, गफगाफ हुन्छ र आत्मीयता साटासाट हुन्छ । यस्तो सरल र सरस जीवनशैली त्यहाँ छैन ।
उता चिल्ला सडक छन्, ती सडकमा एक्लै गाडी कुदाइन्छ । यहाँ सामान्य बाटोमा पनि बाआमाहरू नातिनातिनाको हात समाएर हिंडिरहेका हुन्छन् । उता जस्तो कुकुर समाएर हिंड्न पर्दैन । यता सफारीमा परिवारै चढेर गन्तव्यतिर हिड्दाको आनन्द त्यहाँ टेस्लामा एक्लै गुड्दा कहाँ पाउनु ! यो भावनात्मक कुरा मात्र होइन ।
नेपालमा ५ जनाको परिवारलाई वार्षिक ३ हजार ५०० रुपैयाँ तिरेर लाखौंको स्वास्थ्य उपचार गर्न सकिने बीमा छ । अमेरिकामा राम्रो बिमा किन्न महिनाकै ३ हजार ५०० डलरसम्म तिर्नुपर्छ । उपचार धेरै महङ्गो छ ।
यहाँ ७० वर्षमा जेष्ठ नागरिक भत्ता पाउने व्यवस्था छ । अमेरिकामा योगदान गरेको छैन भने राज्यले सबैलाई यस्तो सुविधा दिँदैन । नेपाल आर्थिक रूपले कमजोर हुँदाहुँदै पनि एकल महिला, शारिरिक दुर्बल व्यक्ति, क्यान्सर र मृगौला पीडितहरूलाई सहयोग गरेकै छ । देशमा केही नहुँदा नहुँदै पनि राज्यले नागरिकहरूलाई यति सुविधा दिनु ठूलो कुरा हो ।
यहाँ अस्पतालमा औषधि पाइन्छ । हिँड्दा–हिँड्दै पनि उपचार गराउन सकिन्छ । युरोप अमेरिकाजस्तो डाक्टर भेट्नलाई पनि महिनौं कुर्नु पर्दैन । गाउँका कुनाकाप्चासम्म पनि प्राथमिक उपचारको पहुँच छ ।
गाउँघरका ती बाटाहरू जहाँ कहिले साइकलमा हिँड्न पनि सकस हुन्थ्यो, त्यहाँ अहिले गाडी सरर गुड्न थालेको छ । गाउँ–गाउँमा स्कुल–कलेजको पहुँच छ । पाँच कक्षासम्म पढ्ने बालबालिकाहरूलाई खाजाको पनि व्यवस्था छ । मेहनत गरे सुन फल्ने खेत–बारीहरू छन् । आफ्नै खेतबारीमा उब्जाएको अर्गानिक खाना तथा फलफूल खान पाइन्छ । कामलाई सम्मान गर्ने परिपाटीको विकास गरिए अवसर पनि कम छैन ।
नेपालमा ठूला ठूला टावर नहोलान् तर मनै लोभ्याउने सेता हिमालहरू छन् । धुवाँ–धूलोरहित निलो र कञ्चन आकाश छ । हरिया चियाबगान छन् । धान झुलेका पहेँलपुर खेतहरू छन् । चराहरूको चिरबिर, झरनाको झरझर, नदीको पवित्र बहाब, तराईको प्रचण्ड गर्मीदेखि हिमालयका काखको चिसो बताससम्मको सङ्गम संसारमा अन्यत्र कतै पाइन्न । प्रकृतिको यस्तो दीव्य उपहार पाएको मुलुकको काखमा रहेर दिन बिताउन पाउँदा पनि जीवन–माधुर्यताको सुखद् अनुभूति हुन्छ ।
पछिल्लो समयमा हरेक घरबाट कोही न कोही विदेश गएका छन् । उनीहरूमार्फत् देशमा रेमिटेन्स आइरहेकै छ । खर्चको खासै अभाव छैन । महङ्गा मल, रिसोर्ट, क्याफे चलिरहेकै छन् । अलिकति राम्रो भावना भएको र इमानदार भएर काम गर्ने मान्छेलाई समाजले चिन्छ र सम्मान पनि गर्छ । यहाँ कमसेकम उताजस्तो हराएर बाँच्नु पर्दैन ।
हामी विकासलाई प्रायः पैसा, भौतिक संरचना र प्रविधिबाट मात्र मापन गर्नेगर्छौं । तर साँचो विकास भनेको मनको शान्ति हो, चिन्ताविहीन जीवन हो; जुन युरोप अमेरिकामा छैन ।
हो, कर्मचारीतन्त्रमा, नेताको मानसिकतामा र सरकारको भूमिकामा गर्नुपर्ने धेरै काम कुरहरूा होलान्, तर साह्रै निराशै हुनुपर्ने अवस्था पनि छैन । देश ठिकठाक चलेकै छ । नेपाल समयसापेक्ष दौडिन नसके पनि आफ्नो गति र लयमा हिँडिरहेको छ । केही सच्याउने कार्य सिर्जनशील युवाहरूले गर्दै पनि छन् ।
मुख्य कुरो भीड होइन, सामूहिकता हो । नकारात्मकता होइन, सकारात्मकता हो । विनाश होइन, सिर्जना हो । म होइन, हामी भन्ने बोध हुने अवस्था सिर्जना भयो भने नेपाल स्वर्ग बन्ने छ भन्ने मेरो अनुभव छ । आशा गरौं, भोलिका दिन नेपाल पनि आफ्ना कमी कमजारी सच्याउँदै विकास र समृद्धिको शिखरमा पुग्न सफल होस् र युरोप अमेरिकाका मानिसहरू आफ्नो जीवन–कालमा एकपल्ट नेपाल घुम्ने इच्छा प्रकट गर्ने अवस्थामा पुगून् !
