नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कार्तिक ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-६ गोल्डेन चोकस्थित सडकमा बा.१६ च ७३९९ नम्बरको कारमा प्र.१-०२-०४५ प ९६८९ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१४ बस्ने २७ वर्षीय फागुलाल चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल टंकी मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि आर्या न्यूरो अस्पताल कञ्चनबारी मोरङ पठाइएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित सडकमा ना.३ ख ९९८६ नम्बरको मिनि बस र बिएब ५००८ नम्बरको कार एक आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा बसमा सवार सोही नगरपालिका-१० बस्ने ३३ वर्षीया पुजा सुवेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै दाङको लमही नगरपालिका-७ हसनापुरस्थित सडकमा रा.२ प ४९१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ देउपुर बस्ने ४४ वर्षीय देव नारायण चौघरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

