आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ, व्यवस्थापनमा समस्या

केही दिनयता म्याग्दीका होटल तथा लज भरिभराउ भएका छन । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् ।

होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ म्याग्दीका पूर्वअध्यक्ष बाबुराम आचार्यले आन्तरिक एवं वाह्य पर्यटकको चाप बढेर होटल भरिभराउ भएको जानकारी दिनुभयो ।

“देशका विभिन्न ठाउँमा भ्रमणका आएका पाहुनाले होटल भरिएका हुन्,” उहाँले भन्नुभयो, “दसैँँ तिहार छुट्टिको यामको अन्तिम समयमा एकै पटक धेरै सङ्ख्यामा पाहुना आउँदा व्यवस्थापनमा समस्या भएको छ ।”

बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोडेपानी, सिङ्गा तातोपानीका होटल आन्तरिक पर्यटकले भरिभराउ बनेका हुन । होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अनुसार बेनीमा रहेका ५० होटलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ ।

म्याग्दीका होटल भरिएपछि शुक्रबार साँझ पाहुनालाई बागलुङ र कुश्मामा रोकिएको सङ्घका पूर्वअध्यक्ष आचार्यले बताउनुभयो । काठमाडौँ पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ ।

दशैंअघिसम्म म्याग्दीका पर्यटकीयस्थल सुनसान भएका थिए । मौसममा सुधार र यातायात सहज भएपछि दशैं लगत्तै सुरु भएको पाहुनाको चहलपहल तिहार सकिएपनि रोकिएको छैन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल परियारले सार्वजनिक, निजी गाडी र मोटरसाइकलमा मुस्ताङ जाने आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको बताउनुभयो ।

पछिल्लो दुई दिनयता दैनिक ७०० वटाभन्दा बढी सवारी साधन बेनी–जोमसोम सडकमा आवतजावत गरिरहेका छन् । यसअघि दैनिक १०० देखि १५० सवारी साधन आवतजावत गर्दथे ।

पर्यटकीय याम, अनुकूल मौसम, चाडपर्वको बिदा भएकाले विद्यार्थी, व्यापारी, कर्मचारीलगायत विभिन्न पेसा व्यवसाय गर्ने मुस्ताङ घुम्न आएका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका होटल व्यवसायी राजु हमालले बताउनुभयो ।

यस वर्ष म्याग्दीको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर नयाँ गन्तब्य स्थलका रूपमा विकास भएको छ । थला परेका होटल तथा रेष्टुराँ व्यवसायीले राहतको महसुस गरेका छन । मुस्ताङ जाने आउने सवारी साधनको चाप बढेसँगै बेनी–जोमसोम सडकमा जाम हुन थालेको छ ।

सम्बन्धित समाचार