नवकान्तिपुर संवाददाता
अदानचुली (हुम्ला), १४ कार्तिक ।


हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंङ सुनार मृत अवस्थामा भेटिएका छन् । एघार दिनदेखि बेपत्ता भएका सुनार शुक्रबार सिमकोट–३ बरगाउँस्थित बाख्रा चाल्न भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुनार यही कात्तिक ३ गते बिहान घरबाट सदरमुकाम सिमकोटका लागि हिँडेका उहाँका आफ्न्त धनवीर सुनारले बताउनुभयो । “घरका लागि विद्युत्को मिटरबक्स किन्न सदरमुकाम जानुभएको थियो । प्रहरी र स्थानीयसँगको सहकार्यमा खोजी गर्दा आज बरगाउँको लबली डाँडाभन्दा केही तल शव फेला परेको हो”, उहाँले भन्नुभयो ।
सुनारको कात्तिक ७ गतेदेखि नियमित खोजी भइरहेकामा आज शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
“लामो समयसम्म सुनार घर नफर्किएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका थिए । निवेदन दिए लगत्तै प्रहरी प्रशासनले परिवारको समन्वयमा खोजी गरेको हो”, उहाँले भन्नुभयो ।
सुनारको शव भेटिएको भन्ने जानकारी आए लगत्तै प्रहरी निरीक्षक विष्णु श्रेष्ठ नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । मृतकको शव परीक्षणका लागि सदरमुकाम सिमकोट ल्याइने प्रहरीले जनाएको छ ।

