नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ कात्तिक ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-१० खाम्दिङस्थित सडकमा चारपानेबाट चिम्दिलतर्फ आउँदै गरेको प्र.१-०७-००१ त ०००७ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३३ वर्षीय दावा ग्याल्जे शेर्पाको शुक्रबार राति मृत्यु भएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सप्तरीको राजविराज नगरपालिका-१६ बोरियास्थित सडकमा राजविराजबाट बिष्णुपुरतर्फ जाँदै गरेको प्रदेश.२-०१-००३ प ७२५१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई शुक्रबार साँझ दुर्घटनामा हुँदा मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका-२ बस्ने ६४ वर्षीय बिन्देश्वर दास तत्माको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै सिरहाको धनगढीमाई नगरपालिका-१ मेदनीपुरस्थित सडकमा सुखीपुरबाट लहानतर्फ जाँदै गरेको म.प्र.०२-००८ प ७८५० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नवराजपुर गाउँपालिका देवनगर टोल बस्ने ५५ वर्षीय बेचन ठाकुरको शनिबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता दोलखाको शैलुङ गाउँपालिका-६ शैलुङ फेदी कालापानीस्थित सडकमा बागमती प्रदेश.०१-००२ ज ६२०८ नम्बरको माइक्रो शुक्रबार दिउँसो दुर्घटना हुँदा माइक्रोमा सवार काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने गोरखा घर भएकी ६० वर्षीया एकुमाया अर्यालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको शैलुङ अस्पताल दोलखामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका माइक्रो चालकको केएमसी अस्पतालमा, माइक्रोमा सवार ६ जनाको ट्रमा सेन्टर काठमाडौंमा, २ जनाको धुलिखेल अस्पताल काभ्रेमा, १ जनाको टिचिङ अस्पतालमा र १ जनाको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

