रातो मसी छ्याप्ने प्रयास गरिएकामा नेता महेश बस्नेतको चिन्ता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफू चढेको गाडीमा आज बिहान मोरङको विराटनगर विमानस्थल परिसरमा रातो मसी छ्याप्ने प्रयास भएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको जानकारीमा आएको उल्लेख गर्दै उक्त घटना लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको टिप्पणी गर्नुभएको छ ।



उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ, लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि यो प्रयास मर्यादाविपरीत छ ।”

शान्तिपूर्ण विरोध, सभा–जुलुस र देशभर स्वतन्त्र आवतजावत गर्ने अधिकार सर्वसाधारणको नैसर्गिक हक भएको बताउँदै उहाँले यस्तो किसिमको आक्रमणकारी व्यवहार कुनै पनि लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने बताउनुभयो ।

बस्नेतले घटनापछि सुरक्षा निकायको तत्कालीन सक्रियताप्रति धन्यवाद दिँदै हिंसा नभई विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फत् नै देश अगाडि बढ्ने जनाउनुभएको छ ।

सम्बन्धित समाचार