‘अब आउने संसद्को बैठक नयाँ भवनबाटै बस्ने गरी काम भइरहेको छ’

सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो बैठक बस्ने गरी सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको कामलाई तीव्रता दिइएको जनाउनुभएको छ ।

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सोमबार उहाँले संसद् भवनको प्रगतिबारे जानकारी गराउँदै तीव्रताका साथ काम भइरहेको बताउनुभएको हो ।

मन्त्री कुलमान घिसिङले भन्नुभयो,“अब आउने सांसदले नयाँ संसद् भवनमै पहिलो बैठक बस्नुपर्छ भनेर लागिपरेका छौँ । अनुगमन संयन्त्र बनाएर नियमित रूपमा कामको मूल्याङ्कन भइरहेको छ । निर्माण पक्ष र कन्टलटेन्टहरूसँग निरन्तर जानकारी लिएर सुझावका आधारमा काम गराइरहेका छौँ ।”

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले १२ वटा भवनमध्ये अधिकांशको ‘सिभिल वर्क’ पूरा भइसकेको र भवनको भित्री सजावटको काम भइरहेको बताउयनुभयो ।

उहाँका अनुसार त्यसको भौतिक प्रगति करिब ३० प्रतिशत सम्पन्न भएको छ । ‘कन्फ्रेन्सिङ’ प्रणालीको करिब ७० प्रतिशत काम पूरा भएको छ । हालसम्म सङ्घीय संसद् भवनको समग्र ८७ प्रतिशत मात्र सम्पन्न भएको छ ।

निर्माणाधीन उक्त भवनको विसं २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । १५१ रोपनी जग्गामा १२ वटा भवन निर्माण भइरहेका छन् ।

हाल ‘फिनिसिङ’ र ‘मेकानिकल इलेक्ट्रिकल’ प्रणाली जडानको काम तीव्र गतिमा भइरहेका छन् । एउटाबाहेक सबै भवनको छाना जडान सकिएको छ । संसद् भवनको डोम क्षेत्रमा निर्माण जारी रहेको र एक महिनाभित्र डोमको माथिल्लो सिलिङ पूरा हुने सचिव सिग्देलले जानकारी दिनुभयो ।

“फ्लोर–सिलिङ, एलुमिनियम विन्डोज, पेन्टिङ, स्यानिटरी, फायर फाइटिङ, इलेक्ट्रिकल, हिटिङ–भेन्टिलेसनलगायत काम एकसाथ अगाडि बढाइएको छ । बाहिरी संरचनामा बगैँचा, भित्री सडक बनाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो,“निर्माण व्यवसायीको नगद प्रवाहमा केही समस्याका कारण निर्माणमा ढिलाइ भएको छ । यसका अतिरिक्त परियोजना अत्यन्तै ठूलो तथा जटिल छ । निर्माणस्थल सेनाबाट चरणबद्ध रूपमा हस्तान्तरण हुन ढिलाइ भएकाले निर्माण ढिलाइ भएको हो ।”

सचिव सिग्देलले भवनमा जडान हुनुपर्ने धेरै सामग्री तथा ‘कन्फ्रेन्सिङ–सेक्युरिटी’ प्रणाली विदेशबाट आयात गर्नुपर्ने र भारतीय प्राविधिक तथा कामदार अभावले पनि समस्या थपेको धारणा राख्नुभयो । करिब रु एक अर्बभन्दा बढी लागतको उपकरण परीक्षण भइरहेको उहाँले बताउनुभयो ।

चैत वैशाखमा सञ्चालन गर्ने गरी निर्माण कार्य अघि बढाउनुपर्नेमा मन्त्रालयले जोड दिँदै आएको छ । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि पाँचौँ पटकका लागि यही वर्षको पुससम्मका लागि म्याद थप गरिएको थियो ।

नयाँ सङ्घीय संसद् भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रयोग गर्दै आएको थियो । ‘जेनजी’ प्रर्दशनका क्रममा उक्त भवन क्षतिग्रस्त भएपछि नयाँ भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार