पुराना नेताहरूका आँखामा नयाँ नेपालको खोजी : जेन्जी आन्दोलनको अपमान

गत भदौ २३ र २४ गते काठमाडौँको सडकहरूमा अचानक युवाहरूको भीड उर्लिएको त्यो दिन केवल कुनै चलचित्रको रोमाञ्चकारी दृश्य मात्र थिएन- यथार्थमा त्यो एक पुस्ताको आर्तनाद थियो- “हामीलाई सुरक्षित भविष्य चाहिन्छ, भ्रष्टाचारमुक्त देश चाहिन्छ ।” देशको ३५ वर्षे राजनीतिक यात्राबाट निराश र आक्रोशित युवा पुस्ताले जेन्जी आन्दोलनमार्फत उठाएको यो केवल एउटा नारामात्र थिएन, भ्रष्ट र दिशाहिन नेताहरूका विरुद्धमा युवा पुस्ताले गरेको नेतृत्व परिवर्तनको ऐतिहासिक संकेत पनि थियो ।

तर पुराना पुस्ताका प्रतिनिधि पात्रहरू ओली, देउवा, प्रचण्डहरू- जसले दशकौँसम्म नेपाली राजनीतिलाई आफ्नो निजी खेलमैदान बनाइरहे, उनीहरूले असन्तुष्ट युवाहरूको यस संकेतलाई बुझेनन् वा बुझ्न चाहेनन् । जेन्जी आन्दोलन पुराना पुस्ताका लागि वास्तवमा मर्यादित अवकाशको सुनौलो अवसर पनि थियो तर उनीहरूले त्यसलाई अवसरका रूपमा स्वीकार गरेनन् बरु फेरि सत्ताको खेलमै फर्किन चाहे।

त्यसैले पनि उनीहरू जेन्जी आन्दोलनलाई अपमान मात्र गरिरहेका छैनन्, आन्दोलनमा होमिएका युवाहरूलाई होच्याउने प्रकृतिका अभिव्यक्ति पनि दिइरहेका छन् । मानौं जेन्जी आन्दोलन बेमौसमी बाजा मात्र थियो वा उनीहरूको भाग खोस्न आएको एउटा भोको जमात मात्र थियो ।

काठमाडौँका सडकदेखि संसदसम्म : जेन्जी आन्दोलनले देखाएको परिवर्तनको संकेत

पछिल्लो पुस्ता- इण्टरनेट, मोबाइल, खुला विश्व, आइटीको तीब्र विकास देख्तै र एआइको चमत्कारसँग साक्षत्कार हुँदै तथा अनगिन्ती जानकारीसँग परिचित हुँदै हुर्किएको छ । उनीहरू राजनीतिक नाटक, राजनीतिक स्वार्थका लागि गरिने नाटकीय गठबन्धन र पुराना नेताहरूको दिकदारीलाग्दो दोहोरो चरित्रबाट माथि उठिसकेका छन् ।

जेन्जी आन्दोलनले देशका पुराना नेताहरूलाई दिएको सन्देश सरल थियो “अब बाटो छोड्नुहोस्, देशले नयाँ नेतृत्व खोज्दैछ। त्यसका लागि हामी सक्षम र जिम्मेवार छौं l” तर सत्ताको तर खान पल्केकाहरूले जेन्जीहरूको यो आशय बुझेर पनि नबुझेकोझैं गरे । सत्ताको ढुकुटीलाई आफ्नै बपौतीजस्तो ठानेर दुरुपयोग गरिरहेकालाई जेन्जीको संकेत नबुझेजस्तो गर्नु बाध्यता पनि थियो । किनकि बुझिसक्ता उनीहरूको बास जेलमा हुन सक्थ्यो । त्यसैले बहिर्गमनको संकेतलाई उनीहरूले नबुझजस्तो गरिरहे र गरिरहेका छन् ।

पुराना नेताहरूले यस संकेतलाई अवसरका रूपमा होइन बरु चुनौतीका रूपमा लिए। उनीहरूले आफूलाई नै “अनिवार्य र अपरिहार्य भूमिका रहेको” का रूपमा प्रस्तुत गर्न खोजिरहेका छन् । पुरानाको यही आत्मकेन्द्री मनोरोगका कारणले  सहज पुस्तान्तरणको  मार्ग प्रशस्त हुन सकिरहेको छैन । चुनाव भइहाले आफू विस्थापित हुने भयले निर्वाचन हुन नदिन पुराना नेताहरू अनेक बाहना खोज्दैछन् ।

पछिल्ला ३५ वर्षमा विश्व बदलियो, छिमेकीहरू बदलिए, नेपाल कहाँ अड्कियो ?

यसबीच विश्वमा प्रविधिको क्रान्ति नै भयो । इन्टरनेटको प्रयोग विश्वव्यापी बन्यो । स्मार्टफोन ५ जीबाट ६ जीमा प्रवेश गर्यो । एआईको प्रयोगले विश्वभरिका मान्छेको सोच्ने शैलीमा परिवर्तन गरिदियो ।  इभी भेइकलको प्रयोगले रेकर्ड मात्र राखेन, इन्धनको खपत कम गरिदियो । डिजिटल अर्थतन्त्रले महत्वपूर्ण स्थानमात्र पाएन, मानिसको जीवनशैली नै परिवर्तन गरिदियो । प्रविधिमैत्री विकासले देश र दुनियाँको मुहार फेरिदियो ।

विश्वको अर्थतन्त्रमा नयाँ उछाल आयो । चीन दोस्रो ठूलो अर्थतन्त्र भएको देश बन्यो । भारत विश्वको आइटी हब बन्यो । सिंगापुर एशियाको वित्तीय राजधानी बन्न सफल भयो । यूएईले पर्यटनको यथेष्ट विकास गर्दै प्रविधिमैत्री आधुनिक शहरहरूको रुपमा विकास भयो ।

अनुमान गर्न सकिन्छ यस ३५ वर्षको अवधिमा नेपालले के के गर्यो होला भनेर ?

यस अवधिमा नेपाल आफ्नो आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्थामा पुग्यो । नेपाल सत्ता परिवर्तनको चक्रव्यूहमा फँस्यो  l पटक पटक संसद विघटन र पुनःस्थापना, गठबन्धन, फुट, एकता र फेरि फुट जस्ता घटना/दुर्घटना नियमित आकस्मिकता जस्तै बने । विश्वले सुदूर भविष्यको संरचना बनाइरहँदा नेपाल भने अस्तित्व टिकाउने रणनीतिमा यति सीमित भयो कि विश्व कहाँ पुग्यो भनेर नेपालका नेताले थाहै पाएनन् । उदाहरणका लागि कत्तारले एआई नियन्त्रित स्काई स्टेडियम बनाइरहँदा नेपालका नेता भने खेल मैदानमा एउटा चिम जोड्दा ऐतिहासिक एवम् महान् कदम भनेर संसार हँसाइरहे । फेरि पनि पुराना नेताहरूको अहङ्कार सानो छैन ।

पुराना नेताहरूको सत्ता मोह : प्रणालीभन्दा ‘व्यक्ति’ ठूलो ठान्ने प्रवृत्ति हाबी

नेपालमा समस्या केवल नीतिगत वा व्यवस्थाको मात्र होइन, नेतृत्वमा पुगेकाहरूको मानसिकताले जनताको चेतना र समयको माग नबुझ्नु प्रमुख हो l उनीहरूलाई लाग्छ, उनीहरूभन्दा जान्ने, बुझ्ने र चेतना भएको प्राणी यस ब्रम्हाण्डको अर्को कोही छैन । उनीहरूको चेतनामा प्रश्न उठाउनु भनेको उनीहरूको बहुमुखी प्रतिभाको केवल ईर्ष्या गर्नु मात्र हो ।

उनीहरूले प्रणालीभन्दा व्यक्ति ठूलो र नीतिप्रधान भन्दा नेताप्रधान सोचलाई सर्वोच्च स्थानमा राखे । कार्यकर्तालाई भेडाबाख्रा सरह बनाए । नेताको चरित्रमाथि प्रश्न गर्नेलाई वर्ग शत्रुजस्तै ठाने र भित्तामा पुर्याए । आफ्नो प्रतिस्पर्धीलाई भित्तामा पुर्याएको ठानेर अरू चुप लागेर बस्ता नेता थप निरङ्कुश बन्दै गए र झन झन पथभ्रष्ट बन्दै गए ।

कार्यकर्ताको नेता भक्तिले उत्कर्ष छुँदा आफ्नो दलका नेताहरूले गरेका र सार्वजनिक भइसकेका ठूला ठूला भ्रष्टाचार र अनियमितताका घटनाहरूका बारेमा दलभित्र चुइँक्क पनि बोलिएन । बरु बाहिर कसैले कुनै घटनाविशेषको नाम लिएर त्यस घटनासँग जोडिएका कुनै नेताका कारेमा केही बोलेको सुने भने उल्टै सात्तो खाने काम गरेर हनुमानभक्ति दर्शाइरहे । यस्ता घटनाले दलविशेषलाई मात्र क्षति गरेन, देशलाई पनि अधोगतितिर धकेलिदियो ।

नेपाली जनताको बाध्यता : ‘विकल्प’ नभएको निर्वाचन

नेपालको निर्वाचनमा दशकौँसम्म एक तथ्य दोहोरियो- त्यो के हो भने, जनतासँग विकल्पहरू सीमित छन्। भरपर्दो विकल्प नहुँदा पुरानै नेताहरूले टिकट पाउने, प्रचार प्रसारको अवसर पनि उनीहरूले पाउने, राज्य सत्तामा उनीहरूको पहुँच हुने अवस्था यथावत रहिरह्यो ।

अतः चार वर्षसम्म आलोचना गरे पनि अन्ततः तिनै नेतालाई मत दिनुपर्ने अवस्था आइरह्यो । परिणामतः नयाँ पुस्ता, नयाँ नेतृत्व, नयाँ विचार आदिले स्थान पाउनै सकेन । परिवर्तनकामी जनतालाई विकल्पहिन बनाएपछि परिवर्तन केवल एउटा सपना बनिरह्यो । पुराना दस्तावेजहरूमा युवाहरूको भावना नसमेटिँदा पुरानै नियति दोहोरिरह्यो ।

आगामी निर्वाचन : नेपालका लागि निर्णायक मोड

अबको यक्ष प्रश्न हो– के अझै नेपाल फेरि पुरानै निरर्थक चक्रमा घुमिरहन्छ कि नयाँ पुस्ताले नेतृत्व सम्हाल्ने अवसर पाउँछन् ? जेन्जी आन्दोलनको भावनाले सार्थकता पाउला त ?

स्मरण रहोस् यदि पुराना नेताहरू फेरि सत्तामा फर्किए भने जेन्जीले उठाएका सुधारका कार्यक्रम अधूरै रहनेछन्, भ्रष्टाचारको संरचना यथावत कायम रहनेछन्, युवापुस्ताको विदेश पलायन यथावत रहनेछ र राजनीतिक स्थिरता समृद्धिको कुरा पुनः संकटमा पर्नेछ ।

तर यदि नयाँ पुस्ताले अवसर पायो भने- प्रविधिमा आधारित शासन आरम्भ हुन सक्छ । काममा पारदर्शिता, डिजिटल कारोबारमा सुधार र भुक्तानी प्रणालीमा नयाँ आयम आउन सक्छ । सबैभन्दा महत्वपूर्रा कुरा, योग्यताले प्राथमिकता पाउन सक्छ । मुलुकमा दीर्घकालीन योजना आरम्भ हुन सक्छ र कुराले होइन कामैले राष्ट्रिय प्राथमिकतामा ध्यान दिइन सक्छ ।

यी सबै सम्भव छन् । त्यसैले पनि मुलुक अब परिवर्तन चाहन्छ। परिवर्तनको लागि नेपाली जनता तयार छन्। अब केवल नेतृत्व बदलिन बाँकी छ ।

त्यसैले पनि अब हुने निर्वाचनले नेतृत्व फेर्न सक्नुपर्छ । रुपान्तरण र समृद्धि चाहने हो भने मतदाताहरूले परिवर्तित परिस्थिति अनुसार आफ्नो मत पनि परिवर्तन गर्न सक्नुपर्छ ।

सारमा,

विगत ३५ वर्षको इतिहासले सिकाएको सबैभन्दा ठूलो पाठ के हो भने- पुराना नेताहरूले अहिलेका युवाहरूले परिकल्पना गरेको जस्तो नयाँ नेपाल बनाउन सक्दैनन्। सत्तामा फर्किने चाहना उनीहरूको बाल हठ वा सत्ता-मोहबाहेक केही होइन । उनीहरूसँग देश विकासको कुनै मोडेल वा सूत्र भइदिएको भए नेपालको अवस्था आजका दिनसम्म आइपुग्दा अर्कै भइसक्ने थियो । पुराना नेताको आँखामा अझै पनि नयाँ नेपालको खाका देख्नु भनेको जेन्जी आन्दोलनमाथि निर्मम् प्रहार हो, अपमान हो ।

अब हुने निर्वाचनमा पनि मतदातमहरूले विवेक गुमाउने हो भने नेपाली जनताको आशामा निराशाबाहेक केही हात लाग्ने छैन । बहुमतका नाममा फेरि पनि  सिर्जनाहीन बूढाहरूले सिर्जनशीलहरूमाथि शासन गरिरहने छन् र परिवर्तनकामी जेन्जीहरू पनि निराश बनेर विदेश पलायनका लागि पासपोर्ट बनाउने लाइनमा लामबद्ध हुन बाध्य हुनेछन् ।

सम्बन्धित समाचार