नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।


पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराई र काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’बीच भेटवार्ता भएको छ ।
ललितपुरस्थित प्रमुख शाहका सहयोगी कुमार बेनको घरमा आज भएको भेटमा नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्ने विषयमा छलफल भएको छ । भेटपछि संरक्षक भट्टराईले भन्नुभयो, “मैले नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्ने मेयर शाहलाई सुझाव दिएको छु, उहाँले सकारात्मक रूपमा लिनुभएको छ ।”
त्यसैगरी, बिहीबारै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने र मेयर शाहबीच पनि छलफल भएको छ । उहाँहरूबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।
मेयर शाहले बिहीबारै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहनुभएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, नेपाली कांग्रेसका नेता सुनिल शर्मा, अमरेशकुमार सिंह, रक्षा बमसहित जेनजी प्रतिनिधिलगायतसँग भेट गरी आगामी निर्वाचनका विषयमा छलफल गर्नुभएको थियो ।
