नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।


उपसभामुख इन्दिरा रानाले मुलुकको आर्थिक विकासका लागि व्यवसायमैत्री कानुन आवश्यक रहेको बताउनुभएको छ । फेसियल हाउसको १८औँ वार्षिकोत्सव तथा कर्मचारी सम्मान कार्यक्रममा उहाँले व्यवसाय र उद्योग फस्टाउनका लागि व्यवसायमैत्री कानुन निर्माण गर्नुपर्ने बताउनुभयो ।
“पुरानो ऐन र कानुनले मुलुकको विकास हुन सक्दैन, युगअनुसारको कानुन निर्माण गरेर अहिले मुलुकमा देखिएको नैराश्यतालाई मेट्न लाग्नुपर्छ”, उहाँले भन्नुभयो । उपसभामुख रानाले मुलुकको विकास राजनीति गर्नेले मात्र गर्न नसक्ने भन्दै यो मुलुक निर्माणका लागि सबैको दायित्व रहेको बताउनुभयो ।
फेसियल हाउसकी सञ्चालक सुष्मा महराले मुलुकमा राजनीतिक स्थिरता भएमात्र व्यवसाय फस्टाउन सक्ने बताउनुभयो । व्यवसायप्रति सरकारको सकारात्मक दृष्टि रहेमा आर्थिक विकासले लय लिने उहाँको भनाइ थियो ।
फेसियल हाउसले अहिले देशभर १२ शाखा स्थापना गरी २०० भन्दा बढी युवालाई रोजगारी प्रदान गर्दै आएको छ । हाउसको वार्षिकोत्सवका अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।
