नवकान्तिपुर संवाददाता
पाटन (ललितपुर), २० पुस ।


सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन गराउने कार्यमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
ललितपुरको मङ्गलबजारमा शनिबार आयोजित ‘गल्ली माप्स’ द्वारा निर्मित निर्वाचन-२०८२ लक्षित ‘मतदाता पहुँच’का लागि मतदान केन्द्र पहिचान तथा दिशानिर्देशन प्रणालीको सार्वजनिकीकरण कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते निर्वाचन हुनेमा भन्नेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।
“फागुन २१ मा हुने निर्वाचनमा जनहितमा काम गर्नसक्ने नेता र नेतृत्व ल्याउन जरुरी छ । मुलक परिवर्तनको जगमा अगाडि बढ्दैछ, युवापुस्ता राजनीतिमा आउनुपर्छ । मतदान केन्द्र कहाँ छ र कसरी जाने भन्ने चिन्ता लिनु पर्दैन, सूचनाप्रविधिको क्षेत्रमा हामीले फड्को मारिरहेका छौँ । प्रविधिमा आधारित कार्यलाई हामीले अगाडि बढाउनुपर्छ”, मन्त्री खरेलले भन्नुभयो ।
उहाँले वर्तमान सरकारले जेनजी युवाको योगदानको उच्च सम्मान गर्ने बताउँदै युवाहरूले गरेका कामलाई प्रोत्साहन गर्दै सरकारी संयन्त्रमा प्रविधिमाथिको पहुँच र उपयोगलाई तीव्र रूपमा अगाडि बढाउँदै लगिएको जानकारी दिनुभयो ।
मन्त्री खरेलले पाटनका सम्पदाहरूको स्तरोन्नति र सौन्दर्यकरणले पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गरिरहेको धारणा राख्नुभयो । “सम्पदाको स्तरोन्नतिले यहाँको पर्यटन प्रवर्द्धनसँगै रोजगारी वृद्धि, शिक्षा र स्वास्थ्यमा सकारात्मक काम भएका छन् । पाटनका गल्लीसँग म परिचित छु, यहाँका हरेक गल्ली र चोकको बेग्लाबेग्लै महत्त्व छ”, उहाँले भन्नुभयो ।
गल्ली माप्सका संस्थापक राजविक्रम महर्जनले यो प्रणालीले घर नम्बर खोज्नेदेखि मतदाता नम्बरबाट मतदान केन्द्र पहिचान गर्न, जात्रा पर्वका बारेमा जानकारी पाउन सहज हुने जानकारी गराउनुभयो ।
