खानेपानीमन्त्री परियारद्वारा पदभार ग्रहण

खानेपानीमन्त्री डा मदनप्रसाद परियारले दोम्बर पदभार ग्रहण गर्नुभएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएका मन्त्री परियारलाई आइतबार प्रधानमन्त्रीद्वारा खानेपानी मन्त्रालयको अतिरिक्त जिम्मेवारी तोकिएको थियो ।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै मन्त्री परियारले देशभरका नागरिकलाई शुद्ध, सुरक्षित तथा दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“तराई मधेससहित देशका धेरै क्षेत्रका नागरिकहरू अझै पनि शुद्ध खानेपानीको पहुँचबाट वञ्चित छन्”, मन्त्री परियारले भन्नुभयो, “नागरिकलाई शुद्ध अनि सुरक्षित खानेपानी उपलब्ध गराउन सरकार, मन्त्रालय र सरोकारवाला सबै निकाय एकजुट भएर लाग्नुपर्छ ।”

उहाँले खानेपानी तथा सरसफाइका क्षेत्रमा देखिएका समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम अघि बढाइने बताउनुभयो । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकतामा राख्दै कार्यक्रमहरू कार्यान्वयन गरिने उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी मन्त्री परियालले मधेस प्रदेशमा अधुरा अवस्थामा रहेका खानेपानीका योजनाहरू शीघ्र सम्पन्न गर्ने प्रस्तावलाई सदर गर्नुभएको छ । यसले त्यहाँका नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार