नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।


गोरखामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । पालुङटार नगरपालिका–३ बोगटीगाउँका २८ वर्षीय शङ्कर सुनारको कुटपिटबाट २१ वर्षीया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बिहीबार बिहान ११ बजेतिर श्रीमानको कुटपिटबाट घाइते भएकी अनुस्कालाई उपचारका लागि आँपपीपल अस्पताल पठाइएको तर अस्पतालले दिउँसो १ः४० बजे मृत्यु भइसकेको घोषणा गरेको प्रहरी निरीक्षक राजन लम्सालले बताउनुभयो ।
“शङ्कर सुनारको कुटाइबाट बिहान ११ः३० श्रीमती अचेत अवस्थामा रहेको भन्ने सूचना हामीलाई १२ः२० बजे प्राप्त भयो”, उहाँले भन्नुभयो, “खबर पाउनासाथ घटनास्थल पुगी घाइतेलाई अस्पताल पुर्याउँदा अस्पतालले मृत्यु भइसकेको घोषणा ग¥यो ।” प्रहरीले शवको मुचुल्का गरी शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा पठाएको उहाँले बताउनुभयो ।
कुटपिट गर्ने शङ्कर सुनार पनि घाइते रहेको र उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिनुभयो ।
