नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले द्रूत गतिमा काम गर्न नसकेको बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा शनिबार सहकारी पीडितहरूसँग भएको छलफलमा उहाँले समितिले पीडितको भावनाअनुसार काम गर्न नसकेको बताउनुभयो ।
मन्त्री इङ्नामले भन्नुभयो, “यो समितिले पीडितको भावनाअनुसार एउटा गतिका साथ काम गर्न सकेको छैन । २३ वटा सहकारीमा रु ४५ अर्बभन्दा बढी व्यवस्थापन गर्नुपर्नेछ, यति ठूलो रकमको व्यवस्थापन गर्नका लागि सात जनाको समितिले तत्काल काम गर्न सक्दैन । धेरै अधिकार तर अनुभवको कमी भएका कारण पनि समितिले दू्रत गतिमा काम गर्न नसकेको मैले महसुस गरेको छु ।”
उहाँले समितिलाई बयान बकपत्र गर्नेदेखि सम्पत्ति जफत गर्नेसम्म अधिकार दिएको भन्दै सोअनुसार काम गर्न समिति आफैँ अग्रसर हुनुपर्ने र त्यसमा अरु सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
हालसम्म रु चार अर्ब १२ करोडको व्यवस्थावन भएको उल्लेख गर्दै मन्त्री इङ्नामले भन्नुभयो, “अझै २० वटा समस्याग्रस्त सहकारीका थुप्रै सङ्ख्यामा रहेका पीडितहरू छन् । झण्डै ७४ हजार ३०७ पीडित बचतकर्ता अझै पनि हुनुहुन्छ । उहाँहरूको ठूलो रकम व्यवस्थापन गर्नका लागि सात जनाको समितिले अलि लामो समय लाग्ने देखिन्छ, यो एउटा समितिले मात्रै छिटो समस्या समाधान हुनसक्दैन ।”
त्यस अवसरमा सहकारी पीडितले आफूहरूको समस्या जतिसक्दो चाँडो समाधान गर्न मन्त्रीलाई आग्रह गरेका थिए ।

