‘निर्वाचनमार्फत मात्र देशलाई सही दिशामा लैजान सकिन्छ’

पूर्वसांसद तथा नेताहरूले जनमुखी राजनीति, जवाफदेही नेतृत्व र समयमै निर्वाचनमार्फत मात्र देशलाई सही दिशामा लैजान सकिने बताएका छन ।

पूर्वसांसद मञ्च, नेपालद्वारा मंगलबार काठमाडौँमा आयोजित ‘नेपालको वर्तमान परिस्थितिको समीक्षा र हाम्रो दायित्व’ विषयक अन्तक्र्रियामा सहभागी पूर्वसांसद तथा नेताहरूले देशको विद्यमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै जुनसुकै सर्तमा पनि तत्काल निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको हो ।

नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणि पोखरेलले पछिल्लो राजनीतिक परिस्थितिमा देशलाई अघि बढाउने तत्कालको आधार निर्वाचन नै भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको राजनीतिक जटिलतालाई चिर्ने एकमात्र उपाय निर्वाचन हो ।”

पूर्वमन्त्री सुमना श्रेष्ठले निर्वाचनलाई आशाको खेती बनाउन नहुने धारणा भन्दै दलहरूले सार्वजनिक गर्ने घोषणापत्र व्यवहारिक र कार्यान्वयन योग्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक नेतृत्व जनताको एजेन्डा, पीडा र आवश्यकताबाट टाढिँदै गएको टिप्पणी गर्नुभयो ।

संविधानविद् तथा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले ऐन निर्माण प्रक्रियामा भएका कमजोरीहरू औँल्याउनुभयो । उहाँले लगानीमैत्री कानुनी वातावरण बनाउन नसकेसम्म मुलुकको आर्थिक विकास सम्भव नहुने बताउनुभयो ।

“नेतृत्वलाई जनताको मुद्दा र पीडाले छुन छोडेको छ, हामीलाई जनताको दुःखले दुख्दैन, त्यसैले जनतामा निराशा बढेको हो”, अधिकारीले भन्नुभयो ।

नेकपा (एमाले)का नेता युवराज ज्ञवालीले वर्तमान अवस्था अपेक्षा गरेभन्दा धेरै चुनौतीपूर्ण रहेको बताउँदै राजनीतिक दल र नेतृत्व अझै बढी जवाफदेही हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “जनताको आवश्यकता बढ्यो, तर नेतृत्व ती आकांक्षा पूरा गर्न असफल देखियो । हाम्रो कामले जनताको मन छुन सकेन”, उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार