नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ माघ ।


हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति तराई भू-भागका केही स्थानमा हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

