नवकान्तिपुर संवाददाता
जनकपुरधाम, १० माघ ।


मधेस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाइएको छ । निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा व्यवस्थासमेत चुस्त पारिएको जनाएको छ ।
निर्वाचन अधिकृत सुभाषबाबु पुरीले आइतबार बिहान ९ देखि ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरिएको जानकारी दिनुभएको हो ।
मधेसमा राष्ट्रिय सभाका लागि रिक्त रहेका चार स्थानका लागि आइतबार निर्वाचन हुँदैछ । महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा रहेको मतदान स्थलमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष एवं उपाध्यक्षका लागि छुट्टा–छुट्टै मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृत पुरीले बताउनुभयो ।
उहाँका अनुसार अन्य, महिला, दलित र अल्पसङ्ख्यक-अपाङ्गता भएका समूहतर्फ गरी चार सिटमा निर्वाचन हुन लागेकामा ११ जनाले उम्मेदवारी दर्ता गराएका छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चारवटै समूहमा उम्मेदवारी दिएको छ । जसपा नेपालले तीन, नेपाली कांग्रेसले दुई, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक-एक सिटमा उम्मेदवारी दिएको छ ।
