नवकान्तिपुर संवाददाता
कास्की, १० माघ ।


राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत आइतबार गण्डकी प्रदेशमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
पोखरा महानगरपालिका–७ रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा तोकिएको मतदानस्थलमा बिहान ९ः०० देखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले निर्वाचनको तयारीका सम्पूर्ण काम सकिएको बताउनुभयो । “निर्वाचनका लागि कर्मचारी खटिइसकेका छन् भने मतदान केन्द्र निर्माण गरिएको छ । मतपत्रसमेत आइसकेको छ । सुरक्षाको सबै व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको छ”, उहाँले भन्नुभयो ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ ।
गण्डकी प्रदेशमा प्रदेशसभाका ५९ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष १६९ गरी जम्मा २२९ जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभारअनुसार गण्डकीमा कुल मतभार छ हजार ३५७ छ ।
प्रदेशसभा सदस्य र स्थानीय तहको गरी छुट्टाछुट्टै दुई मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशमा राष्ट्रियसभाका दुई सिटका लागि चार राजनीतिक दलका छ जना उम्मेदवार मैदानमा छन् । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले संयुक्त उम्मेदवार उठाएका छन् ।
महिला समूहमा नेकपा (एमाले)बाट सम्झना देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट गोमा घिमिरे र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी अन्य समूहमा नेपाली कांग्रेसबाट जगत तिमिल्सना, नेपाली कम्युनिष्ट पार्टीबाट कपिल लामा र राष्ट्रिय जनमोर्चाबाट शङ्कर बराल उम्मेदवार हुनुहुन्छ ।
