नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।


फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुङ्गा जिल्लाबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अम्बिरबाबु गुरुङले तीव्र जनसमर्थन प्राप्त गरिरहेका छन्।
उनको बढ्दो लोकप्रियतासँगै जिल्लाको परम्परागत राजनीतिक समीकरण पूर्ण रूपमा उल्टिएको देखिन्छ। लामो समयदेखि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच पालैपालो जित–हार हुँदै आएको ओखलढुङ्गामा यसपटक चुनावी बहसको केन्द्रमा एउटै नाम छ-अम्बिरबाबु गुरुङ।
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी र त्यससँगै एमालेभित्र देखिएको गहिरो आन्तरिक संकटले एमालेको हार र गुरुङको जितलाई लगभग निश्चित दिशातर्फ लैजाँदैछ भन्ने विश्लेषण दिनप्रतिदिन बलियो बन्दै गएको छ।
एमालेको आन्तरिक भाँडभैलो : गुरुङको जिततर्फ निर्णायक मोड
यो निर्वाचन अम्बिरबाबु गुरुङको पक्षमा मोडिनुको प्रमुख कारण नेकपा (एमाले) ओखलढुङ्गाको आन्तरिक भाँडभैलो हो। उम्मेदवार छनोट प्रक्रियामा जिल्ला कमिटीले सिफारिस गरेका नामहरूलाई बेवास्ता गर्दै केन्द्रले अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्टि सतहमा मात्र सीमित रहेन, खुला विद्रोहमा परिणत भयो।
एमाले ओखलढुङ्गाका अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा ‘किसान’, उपसचिव राजीव कटुवाल, प्रदेश कमिटी सदस्य सुरेश थापा, जगत लुइँटेल, युवा संघका केन्द्रीय सदस्य प्रचण्ड खड्कालगायत ३८ जना पदाधिकारीले एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि एमालेको संगठनात्मक संरचना नै कमजोर बनेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार जिल्लाको सम्पूर्ण कमिटी तह नै अर्को पार्टीमा विलय हुनु भनेको चुनावी अभियान, मतदाता परिचालन र मत व्यवस्थापन-तीनै तहमा एमाले लगभग निष्क्रिय हुनु हो। कागजमा उम्मेदवार भए पनि व्यवहारमा एमालेको अभियान कमजोर, बिखण्डित र रक्षात्मक अवस्थामा देखिएको छ।
टिकट विवादले चर्काएको संकट
एमालेको तत्कालीन ओखलढुङ्गा जिल्ला कमिटीले ईश्वर पोखरेल, यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ, नानीबाबु बढाथोकी र ज्ञानबहादुर खड्काको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। तर ईश्वर पोखरेललाई सहयोग गर्ने रणनीतिअन्तर्गत केपी शर्मा ओली नेतृत्वले लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापालाई राजीनामा गराएर टिकट दिएपछि विवाद चर्कियो।
टिकट वितरणप्रति असन्तुष्ट बनेका एमालेका भातृ संगठन-राष्ट्रिय युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले निर्णय सच्याउन माग गर्दै जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन ताला समेत लगाए। तर नेतृत्वले निर्णय नसच्याएपछि एमाले जिल्ला कमिटी नै विद्रोह गर्दै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको हो।
विकासका कामले बनाएको विश्वसनीयता
अम्बिरबाबु गुरुङ ओखलढुङ्गाका पहिलो कम्युनिस्ट मन्त्री हुन्। कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री तथा मन्त्रीका रूपमा रहँदा उनले जिल्लामा अहिलेसम्मकै धेरै बजेट भित्र्याएका थिए। करिब १० अर्ब रुपैयाँ बराबरका सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र सहरी विकासका आयोजना उनले जिल्लामा ल्याएका छन्।
पाँच वर्षको कार्यकालमा गुरुङले सडक पूर्वाधारमा करिब ७ अर्ब, सहरी विकास तथा आवासमा ६२ करोड, खानेपानी तथा सिँचाइमा ५४ करोड र पर्यटन तथा खेलकुद विकासमा १२ करोड रुपैयाँ ओखलढुङ्गामा भित्र्याएका थिए। यही कारण उनी ‘विकासवादी नेता’को रूपमा चिनिन्छन्।
‘भावना होइन, परिणाम’ मा आधारित राजनीति
गुरुङको सबैभन्दा बलियो पक्ष भनेको विकासमा आधारित विश्वसनीयता हो। सडक सञ्जाल विस्तार, कालोपत्रे योजना, ग्रामीण बस्ती जोड्ने चक्रपथ, खानेपानी र स्वास्थ्य पूर्वाधारमा उनले थालेका योजनाहरू आज पनि मतदाताले प्रत्यक्ष देखिरहेका छन्।
चुनावी भाषणमा उनले “थालिएका योजना पूरा गर्ने” प्रतिबद्धता दोहोर्याइरहेका छन्, जुन मतदाताका लागि भावनात्मकभन्दा बढी व्यावहारिक मुद्दा बनेको छ।
संगठनसहितको उम्मेदवार
अम्बिरबाबु गुरुङ एमालेभित्रको हैकमवादी प्रवृत्ति, टिकट वितरणमा देखिएको स्वेच्छाचारिता र स्थानीय नेतृत्वको अपमानका कारण विद्रोह गर्न बाध्य भएको बताउँछन्। एमाले छाडेपछि उनको राजनीतिक प्रभाव झनै बढेको छ, किनकि उनीसँगै एमालेको जिल्ला कमिटीसहित ठूलो संगठनात्मक पंक्ति नेकपातर्फ सरेको छ।
यसले गुरुङलाई केवल ‘व्यक्तिगत उम्मेदवार’ होइन, ‘संगठनसहितको उम्मेदवार’ बनाएको छ।
कांग्रेस पनि सहज अवस्थामा छैन
यो निर्वाचनमा ओखलढुङ्गामा एमाले मात्र होइन, नेपाली कांग्रेस पनि सहज अवस्थामा छैन। अघिल्लो निर्वाचनमा विजयी रामहरि खतिवडाले टिकट नपाएपछि कांग्रेसभित्र असन्तुष्टि देखिएको छ।
जिल्ला नेतृत्वले एकताको दाबी गरे पनि भित्री तहमा मतदाताको उत्साह कमजोर देखिन्छ। कांग्रेसका असन्तुष्ट मतहरूको ठूलो हिस्सा गुरुङतर्फ आकर्षित हुन सक्ने आँकलन गरिएको छ।
मतको अंकगणितभन्दा मनोविज्ञान गुरुङतर्फ
अघिल्ला निर्वाचनका तथ्यांक हेर्दा एमालेको समानुपातिक मत बलियो देखिए पनि अहिलेको परिस्थिति फरक छ। त्यो मत संगठनसँग जोडिएको थियो, जुन संगठन अहिले विभाजित छ। अर्कोतर्फ, पहिले कमजोर देखिएको नेकपा अहिले एमालेको ठूलो पंक्ति समेटेर बलियो बनेको छ।
यसले मतको अंकगणित मात्र होइन, मतदाताको मनोविज्ञान पनि अम्बिरबाबु गुरुङको पक्षमा मोडिएको स्पष्ट देखिन्छ।

