नवकान्तिपुर संवाददाता
चितवन, २० माघ ।


जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा गर्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सोमबार चितवनको चौबिसकोठीमा सडकमै सभा गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । महाअभियानको सडक सभाअन्तर्गत केन्द्रीय संयोजक दुर्गा प्रसाईले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
चौबिसकोठीमा सडकमै गाडी रोकेर सभा गर्न खोज्दा प्रहरी र सभामा सहभागी हुन आएकाबीच केही समय चर्काचर्की परेको थियो । महाअभियानलाई स्थानीय प्रशासनले हाकिमचोकको केन्द्रीय बस टर्मिनलमा कार्यक्रम गर्ने स्थान तय गरेको भए पनि अभियानका सदस्यहरु बल प्रयोग गरेर चौबिसकोठीमा कार्यक्रम गर्न लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले बताउनुभयो ।
