मलद्वार र डस्टबिनबाट सुन बरामद, दुई पक्राउ

नेपाल प्रहरीले दुई छुट्टाछुट्टै घटनामा सुनसहित दुई जनालाई पक्राउ गरेको छ । एक जनालाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो भने एक जनालाई डस्टबिनमा सुन लुकाएर लैजाने क्रममा पक्राउ गरिएको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मलद्वारमा सुन लुकाउने भारतीय नागरिक हुन् भने अर्काे नेपाली हुन् । बुधबार फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका भारतीय नागरिक अबु बरकतलाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको उहाँले बताउनुभयो ।

शङ्का लागेर जाँच गर्दा मलद्वारभित्र सुन लुकाएको पाइएपछि शौच गराएर १०० ग्रामको अर्धठोस सुन निकालिएको थियो । यस्तै, विमानस्थलमै सुरक्षा छलेर सुन निकाल्न खोज्ने सुनगाभा सगरमाथा सर्भिस प्रालिका सरसफाइ कर्मचारी डिकबहादुर राउतलाई पनि सुनसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

उनलाई विमानस्थलभित्र राखिएको डस्टबिनबाट फोहरसँगै निकाल्ने क्रममा पक्राउ गरिएको हो । उनले निकाल्न लागेको फोहरको पोकोबाट ४.४ ग्रामका सुनका सिक्रीका टुक्रा फेला पारिएको छ । बुधबारै अनुसन्धानका लागि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय पठाइएको पनि सिलवालले बताउनुभयो ।

सम्बन्धित समाचार