‘आगामी निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्य सुनिश्चित गर्ने निर्णायक अवसर हो’

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी निर्वाचन सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने निर्णायक अवसर भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा मंगलबार आयोजित नेपाल आदिवासी ज्ञान सम्मेलनको समापन समारोहमा उहाँले सबै जातजाति, भाषा र समुदायलाई समान राजनीतिक अधिकार र आत्मसम्मान दिलाउन निर्वाचन सफल हुनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनमार्फत मात्रै समावेशी सङ्घीय शासन प्रणालीलाई मजबुत बनाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो । विविधताको सम्मान र समावेशी राजनीतिक व्यवस्थाबिना लोकतन्त्र बलियो नहुने उहाँको तर्क थियो ।

“केन्द्रमा अधिकार राखेर तल दायित्व मात्रै थोपर्ने सङ्घीयताले काम गर्दैन । अधिकार, स्रोत र निर्णय गर्ने क्षमता तल्लो तहसम्म हस्तान्तरण गर्नुपर्छ,” अर्थमन्त्री खनालले भन्नुभयो, “यदि स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न भयो भने मात्रै सबै जातजाति र समुदायले राजनीतिक अधिकार, विकास र आत्मसम्मानको अनुभूति गर्न सक्छन ।”

नेपाल जातीय, भाषिक र सांस्कृतिक विविधतायुक्तमुलुक भएको उल्लेख गर्दै उहाँले विविधतालाई समस्या नभइ राष्ट्रिय सम्पत्तिका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । यस सम्मेलनबाट निस्कने निष्कर्ष तथा सुझावलाई आगामी सरकारलाई लिखित रूपमा बुझाउने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

प्रतिष्ठानको रजत जयन्तीको अवसरमा माघ २५ देखि २७ गतेसम्म राष्ट्रियसभा गृहमा यस सम्मेलन सञ्चालन गरिएको थियो । सम्मेलन आदिवासी समुदाय, विद्वान, अध्येता र नीति निर्माणकर्ताको सहभागितामा आदिवासी ज्ञानको आदानप्रदान, संरक्षण र पुनर्जीवनका लागि प्रयासमा केन्द्रीत भएको प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बताउनुभयो ।

बौद्धिक विमर्श, नीतिगत संवाद र सांस्कृतिक उत्सवका कार्यक्रम सम्मेलनको विशेषताका रूपमा रहेका थिए । सम्मेलनमा देशभरका विभिन्न आदिवासी जनजाति समुदायका झण्डै तीन सय प्रतिनिधिको सहभागी रहेको थियो ।

सम्बन्धित समाचार