देश बनाउने काम एक जनाबाट मात्र सम्भव हुँदैन, सबैलाई मिलाएर लैजान्छु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बनाउने काम एक जनाबाट मात्र सम्भव नभएकाले सबैलाई मिलाएर लैजाने बताउनुभयो ।

सर्लाही निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बुधबार साँझ जिल्लाको धन्कौलमा आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उहाँले आफू मधेसबाट देश जोड्ने सन्देश दिने उद्देश्यसहित यहाँ आएको भन्दै मतदाताको विश्वास जितेर काम गर्ने बताउनुभयो ।

सभापति थापाले भन्नुभयो,“देश एक्लैले बनाउने होइन । यो सामूहिक प्रयास र सङ्कल्पबाट मात्रै सम्भव हुन्छ । एउटा व्यक्तिले देश बनाउने भए पहिले नै राजा महाराजाले बनाइसक्ने थिए । यसर्थ देशमा रहेका सबै दललाई मिलाएर परिवर्तनका लागि हातेमालो गर्नुछ । त्यसको भूमिका मेरो पार्टी र मैले पूरा गर्नेछु ।”

उहाँले आफू निर्वाचन क्षेत्र नपाएर सर्लाही नआएको भन्दै उहाँले काठमाडौँ क्षेत्र नं ४ जस्तो आफ्नो बलियो जनाधार रहेको सजिलो क्षेत्र छाडेर आएको उहाँले बताउनुभयो । “मलाई अझ बढी मधेस बुझ्नु छ । यहाँको पीडा बुझ्नु छ । यहाँका समस्याबारे धेरै कुरा उठिसकेका छन्, म समाधान गर्छु भनेर आएको हुँ”, सभापति थापाले भन्नुभयो ।

आफ्नो पार्टीले विश्वास गरेर प्रधानमन्त्रीमा अगाडि सारेको उल्लेख गर्नुहुँदै उहाँले अब देशभरबाट पार्टीलाई सहयोग गरेर त्यसमा समर्थन प्राप्त हुनेमा विश्वस्त रहेको बताउनुभयो । प्रधानमन्त्रीको जिम्मेवारी नपाए पनि आफूले सर्लाही क्षेत्र नं ४ को विकासमा प्रतिबद्ध भएर काम गर्ने उहाँको भनाइ थियो ।

“मलाई कसैले नेता वा माननीयका रूपमा हेर्नुपर्ने छैन । यहाँहरूले मलाई आफ्नै दाइ, भाइ वा छोरा। साथी भनेर बुझिदिनु हुन्छ । म पाँच वर्षका लागि यहाँहरूको परिवारको सदस्य हुन आएको छु”, सभापति थापाले भन्नुभयो,“समस्या समाधानका लागि सर्लाही–४ र काठमाडौँ दुवै ठाउँमा कार्यालय सञ्चालन गर्नेछु, अहिले मैले मत मागे जसरी पछि यहाँका नागरिकले मसँग हक माग्ने हो ।”

सम्बन्धित समाचार