कांग्रेस समाजमा योगदान गर्न चाहनेका लागि राजनीतिको विश्वविद्यालय हुन्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस अब फेरि राजनीतिको विश्वविद्यालय हुने बताउनुभएको छ ।

बुद्धिजीवी तथा पेसागत समूहद्वारा आइतबार काठमाडौँमा आयोजित अन्तरक्रियामा उहाँले कांग्रेस राष्ट्रिय राजनीतिक विषयमा प्रतिबद्ध रहेको बताउँदै समाजमा योगदान दिने जोकोहीलाई आउन मिल्ने र उनीहरूलाई पार्टीमा उचित व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

महामन्त्री पौडेलले विगतका कमजोरी सुधार्दै पार्टीमा सुधार र देश विकासका लागि सबैलाई साथ लिएर अगाडि बढ्न आफूहरू तयार भएको बताउनुभयो । स्थानीय र राष्ट्रिय आवश्यकता पूरा गर्न सहमतिको भावनाका साथ सबै प्रतिबद्ध भएर लाग्नुपर्ने भन्दै उहाँले त्यसमा आफू र आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

पूर्वमन्त्री नरहरि आचार्यले पार्टीमा भएको नेतृत्व परिवर्तनले देशमा आशा जगाएको भन्दै अब कांग्रेसले जनअपेक्षाअनुसार नीति तथा कार्यक्रम परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थशास्त्री डा पोषराज पाण्डेले कांग्रेसमा परिवर्तन आवश्यक रहेकामा त्यो सफल भएको र अब परिवर्तनलाई संस्थागत गर्न सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पूर्वराजदूत शम्भुराम सिम्खडाले पार्टीमा भएको परिवर्तनमा सबैलाई जोडेर देश विकासमा अगाडि बढ्न सुझाव दिनुभयो ।

सम्बन्धित समाचार