नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ फागुन ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले ) का उपाध्यक्ष रामबहादुर थापा बादलले आफ्नो पार्टी नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पार्टीको कीर्तिपुर नगर भेलामा बुधबार उहाँले मुलुकको समृद्धि, सुशासन, दिगो विकास कायम गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने विषय पार्टीको मुख्य कार्यभार भएको बताउनुभयो ।
उपाध्यक्ष थापाले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा गर्न एमाले सक्षम रहेकाले आसन्न निर्वाचनमा जनताले पार्टीलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीले व्यावहारिक र पाँच वर्षमा हासिल गर्नसक्ने कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याएको भन्दै उहाँले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले निर्वाचन सम्पन्न भएमा आफ्नो पार्टी पहिलो दल बन्ने दाबी गर्नुभयो ।
पार्टीका काठमाडौँ निर्वाचन क्षेत्र नं १० का उम्मेदवार विनोद श्रेष्ठले मुलुकमा विभिन्न समयमा भएका आन्दोलन तथा राजनीतिक परिवर्तनमा कीर्तिपुरवासीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै फेरि पनि राजनीतिक उपलब्धिको हरण हुन नदिने विश्वास व्यक्त गर्नुभयो ।

