नवकान्तिपुर संवाददाता
जानकी (बाँके), १४ फागुन ।


नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताउनुभएको छ । उहाँले आगामी चुनावपछि काम गरेर देश अघि बढाउनुपर्ने बताउनुभयो ।
बाँकेको जानकी गाउँपालिका–३ मा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति थापाले मतदातालाई घरघरमा गएर रुखमा मतदानका लागि अनुरोध गर्दै उक्त कुरा बताउनुभएको हो ।
बाँकेका मतदातालाई सम्बोधन गर्दै थापाले स्व सुशील कोइरालाले बनाएको संविधानको राजमार्गमा कांग्रेसको गाडी रफ्तारमा दौडाउने उल्लेख गर्नुभयो । सुशासनका लागि आगामी ५ वर्षका लागि कांग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
विसं २०४६ पछिका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने भन्दै सभापति थापाले हिजो गरेका गल्ति सच्याउनुपर्ने र हिजोको फोहर सफा गरिने बताउनुभयो । पेटमा भोक छ, आँखामा सपना छ अनि सङ्कल्पसहित अघि बढ्ने योजना रहेको उल्लेख गर्दै सभापति थापाले पार्टी एकढिक्का रहेको र कुनै समस्या नभएको बताउनुभयो । चुनाव केन्द्रित कांग्रेसका सभालाई सम्बोधन गर्ने कार्यक्रमअन्तर्गत उहाँ बिहीबार बाँके आइपुग्नुभएको हो ।

