नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।


उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको बताउनुभएको छ ।
काठमाडौं क्षेत्र नं ३ बाट पराजित भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष घिसिङले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेलाई बधाई दिँदै आफूलाई मत दिने मतदाताहरुलाई आभार व्यक्त गर्नुभएको छ ।
“चुनावको परिणाम जे जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन, समृद्धिसहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु । मेरा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकलाई सहयोगका लागि धन्यवाद दिन्छु । सबैको साथ, माया र विश्वासले मलाई आगामी दिनहरूमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको छ ।”
उहाँले सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढाउने विश्वास पनि लिनुभएको छ ।
