जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्छु : नवनिर्वाचित सांसद महता

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा रास्वपाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महताले आफ्नो विजयलाई परिवर्तन, सुशासन र पारदर्शिताको पक्षमा उभिएका सम्पूर्ण जनताको जित भएको बताउनुभएको छ ।

महताले मतदाताहरूले आफूमाथि देखाएको विश्वास र भरोसालाई सधैँ सम्मान गर्दै जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

निर्वाचनमा विजयी भएपछि मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै महताले यो ऐतिहासिक सफलताका लागि साथ, समर्थन र विश्वास दिने सम्पूर्ण मतदाता, शुभेच्छुक, पार्टीका कार्यकर्ता तथा सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गर्नुभयो । उहाँले जनताको मतको कदर गर्दै आगामी दिनमा जनभावनाअनुसार अघि बढ्ने बताउनुभयो ।

सांसद महताले निर्वाचनमा लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी भई जनतासामु आफ्ना एजेन्डा प्रस्तुत गर्ने निकटतम प्रतिस्पर्धी उम्मेदवारलाई पनि धन्यवाद दिनुभएको छ । लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धाले नै विचार, नीति र नेतृत्वलाई परिपक्व बनाउने उल्लेख गर्दै उहाँले आगामी दिनमा देश र समाजको हितका लागि सबै पक्षसँग सहकार्य गर्ने अपेक्षा राख्नुभएको छ । महता २७ हजार ११८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिप्रसाद बोहराले नौ हजार ४४३ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित समाचार