नवकान्तिपुर संवाददाता
गोरखा, २५ फागुन ।


राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । आइतबार साँझ क्षेत्र नं २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको हो ।
कुल एक लाख आठ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ५४ हजार १४७ (९४.७३ प्रतिशत) मतमात्र सदर र तीन हजार नौ (५.२६ प्रतिशत)मत बदर भएको थियो । विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गर्नुभएको हो ।
बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार प्रकाशचन्द्र दवाडीले भन्दा १४ हजार ९६० बढी मत प्राप्त गर्नुभयो । दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गर्नुभयो । अर्का प्रतिस्पर्धी नेकपा (एमाले)का मिलन गुरुङ (चक्रे मिलन)ले तीन हजार ८७ मत मात्र पाउनुभयो ।
प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्यमध्येका हुनुहुन्छ । विसं २०७९ असारमा पार्टी स्थापना हुँदा उहाँ केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने दुई महिनामै सहमहामन्त्री र दुई वर्षमै महामन्त्री बन्न सफल हुनुभयो । अहिले पनि उहाँ रास्वपाका महामन्त्री हुनुहुन्छ ।
उहाँको जन्म २०३६ साल मङ्सिरमा बुबा राजाराम र आमा डम्मरकुमारी बुर्लाकोटीको सन्तानका रुपमा धादिङको सल्यानटारमा भएको थियो । पाँच वर्षको उमेरमा गोरखाको पालुङ्टार–९ मा बसाइँ सरी आएका अभिभावकले उहाँलाई धर्मोदय माविमा कक्षा १ मा भर्ना गरिदिनुभएको थियो ।
गोरखा नगरपालिका–१२ स्थित महेन्द्र मावि कुन्दुरटारबाट एसएलसी पूरा गरेपछि नयाँजीवनको सुरुआत गर्न उहाँ राजधानी काठमाडौँ प्रवेश गर्नुभयो । कमजोर आर्थिक अवस्थाबाट गुज्रिएका उहाँ एसएलसी उत्तीर्ण गरेपछि सरस्वती क्याम्पसमा कमर्स पढ्न सुरु गर्नुभयो ।
स्नातक तह अध्ययन गर्ने सिलसिलामा भने उहाँ युवा सशक्तिकरणका विभिन्न अभियानको संलग्न हुनुभयो । फाइनान्समा स्नातकोत्तर गर्नुभएका उहाँले अस्ट्रेलियाको न्यू साउथवेल्स युनिभर्सिटीबाट ह्युमनराइट्स एन्ड बिजनेस कोर्स अध्ययन गर्नुभयो ।
मलेसियाको आइकम इन्स्टिच्युटबाट उहाँले ‘युथ लिडरसिप’ कोर्स पूरा गर्नुभयो । त्यसपछि २०५७ सालमा उहाँले भ्रष्टाचार विरोधी गतिविधि गर्ने संस्था युनाइटेड युथ नामक संस्था दर्ता गरी संस्थापक अध्यक्ष पदमा रहेर युवा सशक्तिकरण अभियान सुरु गर्नुभयो । त्यसपछि २०६४ सालमा उहाँकै नेतृत्वमा देशभरका युवाको संस्थाहरूको सञ्जाल ‘नेपालयुवा संस्था सञ्जाल’ गठन भएको थियो ।
त्यसलगत्तै उहाँले २०६९ सालतिर फेरि अर्को युवाहरूको छाता संस्था ‘राष्ट्रिय युवा महासङ्घ’ दर्ता गर्नुभएको थियो । यसमा देशभरकै युवा संस्थाहरू आबद्ध थिए । “
यो महासङ्घमा आबद्ध रहेका धेरै युवा अहिले मसँगै सांसद भएका छन्”, उहाँ भन्नुहुन्छ, “यही बीचमा संयुक्त राष्ट्र सङ्घको नेपाल च्याप्टरको युथ एड्भाइजर भएर सन् २००८ देखि २०१२ सम्म काम गरेँ । एउटा बेसाएर खाने गरिब परिवेशमा गुज्रिएको म पछि युवा गतिविधिमा सरिक भएँ । तीस वटा देश घुम्ने मौका पाएँ ।”
पार्टीका लागि जीउज्यान दिएको प्रतिफल अहिले देश घण्टीमय भएको उहाँको बुझाइ छ । अहिले देशभरका नागरिकको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्नाका पछाडि आफूहरूको इमान्दारिता, क्षमता, दक्षता भएको उहाँको भनाइ छ ।
“नयाँ पार्टी त जति पनि थिए तर हामीमै किन यति धेरै विश्वास र भरोसा भयो भने हामीमा काम गर्न सक्ने क्षमता छ भनेर सबैले बुझेका छन्”, उहाँ भन्नुहुन्छ, “अब यो विश्वास र भरोसालाई सदा सर्वदाका लागि टिकाइराख्नु हाम्रो चुनौती हो ।”
