लोकतन्त्रमा चुनावमा हार्नु वा जित्नु स्वाभाविक प्रक्रिया

विश्वका धेरै प्रतिष्ठित नेताहरू पनि चुनाव हारेका उदाहरण छन्। चुनाव हार्नु वा जित्नु लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक विशेषता हो। बेलायतका प्रधानमन्त्री सर विन्स्टन चर्चिलले दोस्रो विश्वयुद्ध जिताएपछि पनि सन् १९४५ को आम चुनावमा पराजय भोग्नुपरेको थियो। खाडी युद्ध जितेका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुश पनि सन् १९९२ को राष्ट्रपतीय चुनावमा पराजित भए। भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धी शक्तिशाली नेतृ भए पनि सन् १९७७ को चुनावमा हारिन्।

नेपालमा पनि नेपाली कांग्रेसका सभापति तथा २०४७ सालमा अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले संविधान निर्माण ऐतिहासिक निर्वाचन सम्पन्न गराए तापनि २०४८ को संसदीय निर्वाचनमा पराजय व्यहोर्नु परेको थियो।

यसरी लोकतन्त्रमा प्रतिष्ठित, लोकप्रिय वा शक्तिशाली नेताहरू पनि चुनावमा हार्न सक्छन्। त्यसैले चुनावी परिणामलाई मात्र आधार बनाएर आमूल सुधार पार्टी रूपान्तरणको अठोट बोकेका मुख्य सारथीले जिम्मेवारीबाट पन्छिनु आम कांग्रेस कार्यकर्ताको चाहना होइन।

नेतृत्व सम्हालेको जम्मा ५० दिनको अवधिमा वर्षौँदेखि थुप्रिँदै आएका विकृति, विसङ्गति समस्याहरू जादुगरी झैँ चुट्कीको भरमा समाप्त हुन नसक्नु स्वाभाविक हो। पार्टीको प्रमुख सारथी, कांग्रेस सभापतिलाई थाक्ने, निराश हुने वा अल्मलिने छुट हुँदैन। परिस्थिति विगतको विरासतका रूपमा आएका खराबीहरूकै आधारमा राजीनामा गर्नु गम्भीर राजनीतिक भूल हुन सक्छ।

यसकारण हतारमा कुनै निर्णय नगरी विगतदेखि थुप्रिँदै आएका अपयश, विकृति तत्कालीन तरल राजनीतिक अवस्थाको निर्मम विश्लेषण, समीक्षा मूल्याङ्कन गरी भावी रणनीति तयार गर्न पार्टी नेतृत्व युद्धस्तरमा केन्द्रित हुनु आजको प्रमुख आवश्यकता हो।

सम्बन्धित समाचार