नवकान्तिपुर संवाददाता
कैलाली, २५ फागुन ।


सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणामले सुशासनयुक्त मुलुक निर्माणका पक्षमा अभिमत दिएको बताउनुभएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित श्री जनसेवा माध्यमिक विद्यालय बघौरा गणेशपुरको आज यहाँ आयोजित ३६औँ जन्मजयन्ती तथा वार्षिकोत्सव समारोहका अवसरमा मुख्यमन्त्री शाहले जनताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत दिएको बताउनुभयो ।
मुख्यमन्त्री शाहले जनताले राष्ट्रिय राजनीतिमा प्रकट गरेको अभिमतले मुलुकलाई भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनयुक्त बनाउने दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई जनताको भावना र चाहनाअनुसार कार्यान्वयन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले संरचनागत सुधार नगरेसम्म विकासको गति तीव्र बनाउन नसकिने उल्लेख गर्दै आगामी दिनमा गठन हुने दुई तिहाइको सरकारलाई प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट निर्माण गरिएको दुई कोठे विद्यालय भवनको उद्घाटनसमेत उहाँले गर्नुभएको थियो ।

