काठमाडौंको फोहरको भारी बोकेर बसेका सिसडोल र बञ्चरेडाँडाबासीको बालेनप्रति आशावादी नजर

काठमाडौँ महानगरपालिकाको मेयर बनेपछि बालेन्द्र शाह र नुवाकोटको बञ्चरेडाँडा बासीबीचको सम्बन्ध सुरु भएको हो। काठमाडौँको फोहोर व्यवस्थापनको केन्द्रका रूपमा रहेको यो क्षेत्र वर्षौँदेखि दुर्गन्ध, प्रदूषण र स्वास्थ्य जोखिमको बोझ बोकेर बसेको छ। मेयरमा निर्वाचित भएको केही समयमै बालेन शाह सिसडोल र बन्चरेडाँडा पुगेका थिए।

फोहोर व्यवस्थापनको वास्तविक अवस्था बुझ्न उनी स्थलमै पुगेका थिए। त्यहाँ पुग्दा देखिएको दृश्य निकै पीडादायी थियो। फोहोरबाट निस्कने लिचेट (दूषित पानी) सिधै खोलामा मिसिएको थियो। फोहोर अव्यवस्थित रूपमा थुपारिएको थियो। दुर्गन्ध यति तीव्र थियो कि आसपासका गाउँबस्तीमा बस्नै कठिन हुने अवस्था बनिसकेको थियो।

त्यो दृश्य देखेर बालेन शाह निकै भावुक बनेका थिए। उनले त्यतिबेला सार्वजनिक रूपमा भनेका थिए- “जबसम्म फोहोरको वैज्ञानिक व्यवस्थापन हुँदैन, म माला लगाएर सम्मान स्वीकार गर्दिन।”

उनको यो भनाइले सिसडोल र बन्चरेडाँडाका स्थानीयबासीमा ठूलो आशा जगाएको थियो। काठमाडौँको फोहोर सहेर वर्षौँदेखि पीडा भोगिरहेका स्थानीयहरूले सोचे- अब सायद उनीहरूको समस्या समाधान हुनेछ। तर समय बित्दै गयो। बालेन शाह काठमाडौँ महानगरको मेयरको कुर्सीमा साढे तीन वर्षभन्दा बढी समय बसे। तर बन्चरेडाँडाको समस्या भने उस्तै रह्यो।

दुर्गन्ध, प्रदूषण र स्वास्थ्य जोखिमका कारण स्थानीयबासी पटक–पटक आन्दोलनमा उत्रिए। उनीहरूको माग सरल थियो – ‘स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको रक्षा गरियोस्।’

आन्दोलनका क्रममा फोहोर बोक्ने गाडी रोकिए, सडक अवरुद्ध भए र काठमाडौँमा फोहोर थुप्रिने अवस्था समेत आयो। तर समाधान खोज्नुको साटो धेरै पटक आन्दोलन प्रहरी परिचालन गरेर दबाउने प्रयास गरियो। अश्रुग्यास प्रहार, पानीका फोहरा र धरपकडका घटनाले आन्दोलन झन् तनावपूर्ण बन्यो। केही स्थानीयमाथि विभिन्न मुद्दा लगाउने प्रयास गरिएको उनीहरूको गुनासो छ।

यसबीचमा अर्को गम्भीर आरोप पनि उठ्यो। फोहोर व्यवस्थापनको वास्तविक अवस्था बुझ्न स्थलगत रिपोर्टिङ गर्न पुगेका पत्रकारहरूलाई समेत अवरोध गरिएको बताइन्छ। स्थानीय स्रोतका अनुसार रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीमाथि आक्रामक व्यवहार भएको र उनीहरूलाई त्यहाँबाट फर्काउने प्रयास गरिएको थियो। पत्रकारमाथि आक्रमण गर्ने प्रयाससमेत भएको भन्दै त्यस घटनाले निकै चर्चा पायो।

यसले अर्को प्रश्न जन्मायो- यदि समस्या छैन भने रिपोर्टिङ किन रोकियोरु र यदि समस्या छ भने समाधान किन भएनरु
यसबीचमा राजनीतिक परिदृश्य फेरिएको छ। बालेन शाह अहिले राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकाका वरिष्ठ नेताका रूपमा उदाएका छन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले झापा ५ बाट उम्मेदवारी दिँदै केपी ओलीसँग प्रतिस्पर्धा गरेर भारी मतले विजय हासिल गरेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार उनी अहिले देशको सम्भावित भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चामा छन्।

चुनावी सभामा बोल्दै उनले भनेका थिए “विदेशी शक्तिका कारण बन्चरेडाँडाको फोहोर व्यवस्थापन गर्न सकिएन।” यथार्थ जे भए पनि बन्चरेडाँडाका बासिन्दाका लागि प्रश्न अझै उस्तै छ।

काठमाडौँलाई सफा राख्न आफ्नो गाउँ, पानी र हावा प्रदूषण सहँदै आएका उनीहरूले वर्षौँदेखि दुर्गन्ध, रोगको जोखिम र संघर्ष मात्रै भोगिरहेका छन्। आज बालेन शाह राष्ट्रिय राजनीतिमा उक्लिँदै छन्। यदि साँच्चै जनताले उनलाई प्रधानमन्त्री बन्ने जनादेश दिएका छन् भने बन्चरेडाँडाका बासिन्दाले एउटा मात्र अपेक्षा गरेका छन्- अब त पन्छिन नमिल्ला नि !

काठमाडौँको फोहोर बोकेको बन्चरेडाँडाले के अब साँच्चै स्वच्छ जीवनको अधिकार पाउनेछ ? कि फोहोरको दुर्गन्धसँगै उनीहरूको पीडा फेरि राजनीतिक भाषणमै सीमित हुनेछ ? यसको उत्तरका लागि भने अरु केही समय प्रतीक्षा गर्नु पर्ला ! तर अब पनि समाधान नभए कहिले हुने त ? बञ्चरेडाँडाबासी अबचाहिँ समस्याको सम्बोधन हुने कुरामा आशावादी छन् ।

सम्बन्धित समाचार