नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० फागुन ।


परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र अनुभव मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घको १२औँ विश्व सम्मेलनको आज यहाँ शुभारम्भ गर्दै उहाँले र प्रवासी नेपालीलाई मुलुकको आर्थिक, सामाजिक विकासमा साझेदार हुन आह्वान गर्नुभयो ।
प्रविधिका कारण विकास तीव्र रुपमा अगाडि बढिरहेको बताउँदै उहाँले अन्तरराष्ट्रिय तहमा शक्ति सन्तुलनमा फेरबदल आएकाले देशको भूराजनीतिक सम्बन्ध तथा सौम्य शक्ति वृद्धि गर्न सङ्घले सेतुको काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालका सांस्कृतिक दूतका रुपमा गैरआवासीय नेपालीले पारस्परिक विश्वास अगाडि बढाएर नेपाली माटोमा योगदान पु¥याउने विचार व्यक्त गर्दै उहाँले सङ्घको संरक्षण तथा प्रवर्द्धनका लागि सरकारले आवश्यक ऐन परिमार्जन गर्ने जानकारी दिनुभयो ।
फरक प्रसङ्गमा उहाँले अन्तरराष्ट्रिय तहमा भएका द्वन्द्वका कारण त्यहाँस्थित नेपालीको सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै आपतकालीन अवस्थामा उनीहरुलाई सहयोगका लागि परराष्ट्र मन्त्रालयका साथै सम्बन्धित मुलुकस्थित नेपाली नियोगमार्फत उद्धार उडान पनि सञ्चालन गरेको जानकारी दिनुभयो ।
सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले नेपालमा लगानी भित्र्याउनेतर्फ आफूहरू क्रियाशील रहेको बताउँदै गैरआवासीय नेपालीको अधिकार संरक्षण गर्न संस्था प्रतिबद्ध रहेको दोहोर्याउनुभयो ।

